मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धु प्रसाद बास्तोलाले यसवर्षको मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ विगतको भन्दा बढि व्यवस्थित बनाइएको बताएका छन् । 

मंगलबार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ बारे आयोजित पत्रकार भेटघाटमा उनले करिब तीन महिनाको गृहकार्यपछि आएको कार्ययोजना विगतको भन्दा बढि व्यवस्थित बनाइएको बताए । उनले भने, ‘कार्ययोजना प्राधिकरणले मात्र बनाएर अन्य संस्थाले कार्यान्वयन गर्ने होइन् । यसमा एउटा कार्यदल थियो, विपद् व्यवस्थापनसँग सरोकार राख्ने धेरै निकायको प्रतिनिधित्व थियो । करिब तीन महिनाको गृहकार्यपछि यो कार्ययोजना आएको हो । यसवर्षको कार्ययोजना विगतको भन्दा बढि अध्ययन गरेर अलि बढी व्यवस्थित बनाइएको छ ।’ यस्तै, उनले विगतमा कार्यान्वयन नभएको कुरा सत्य भएको भन्दै यसपाली कार्ययोजनाको ३०–३० दिनमा मूल्यांकन गरि आएका समस्या तत्काल समाधान गर्दै जाने बताए । 

उनले भने, ‘विगतमा कार्यान्वयन नभएको कुरा सत्य पनि हो । तर अब यो कार्ययोजनाको ३०÷३० दिनमा मूल्यांकन हुन्छ । त्यो बेला पनि सबै निकायको प्रतिनिधित्वलाई बोलाउने छौ र सबै निकायले आफ्नो जिम्मेवारीमा भएको काम गरेको छ कि छैन्, कहाँ के कमी कमजोरी भएको छ, त्यो सबै छलफल भएको छ र थप निर्देशन दिइने व्यवस्था मिलाइन्छ । ३० दिन मूल्यांकन गर्ने भएपछि आएको समस्या तत्काल समाधान हुन्छ भन्ने अपेक्षा लिइएको छ ।’

प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधि रहेको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब ४,५७,१४५ घरधुरीका १९,९७,७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ । 

प्राधिकरणको बैठकले चोभार गल्छी साँघुरो भई गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाको कारण बागमती नदीमा पानीको सतह बढ्न गई काठमाडौँ उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खु लगायतका भूभागहरुमा डुबान भएको हुँदा पुनः उक्त प्रकारको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको थियो ।
 

प्रतिक्रिया