काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार उसको आन्दोलन देखेर डराएको दावी गरेको छ । आन्दोलनको समीक्षा गर्न शनिबार बसेको कार्यसम्पादन समितिमा राप्रपाले यस्तो निष्कर्ष निकाल्दै आन्दोलनलाई निरन्तरता राख्ने निर्णय गरेको छ ।
राजतन्त्र पुनस्र्थापनाको माग राखेर यही १५ गते गणतन्त्र दिवसका दिनदेखि आन्दोलनमा उत्रिएको विपक्षी दल राप्रपाले आगामी कार्यक्रमहरु अझै मजबुत तरिकाले अगाडि बढाउने निर्णय पनि गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले बताए अनुसार, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो । आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ । शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो ।’
हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको स्पष्ट देखिएको लिङ्देनको भनाई छ । निषेधित क्षेत्र तोकेर सरकार कमजोर भयो भन्ने कुरा प्रमाणित भएको उनको दावी छ ।
लिङ्देनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको र सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । निषेधित क्षेत्र तोक्यो भनेर दुःखी हुनुभन्दा पनि हामीलाई यसले उत्साहित तुल्याएको छ ।’
प्रतिक्रिया