काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका निम्ति मात्रै भएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरुको गणतन्त्र बनिरहेको बताएका हुन् । उनले भने, ‘यो गणतन्त्र केहीमुठ्ठि भरका विचौलियाको निम्ति थिएन । यो गणतन्त्र मुठ्ठिभरका दलाल पूँजीपति वर्गको निम्ति मात्रै स्थापना गरिएको होइन । यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरुको हितका निम्ती स्थापित गरिएको थिएन । अहिले देशको गणतन्त्र आम जनताको लागि छैन् । अहिले मुठ्ठिवादी दलालपूँजीपतिको लागि मात्रै गणतन्त्र बनिराखेको छ । देशका शोषकहरुको गणतन्त्र बनिरहेको छ । जनताको गणतन्त्र बन्न सकिरहेको छैन ।’ साथै उनले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको बताए । उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए ।
उनले भने, ‘अहिले एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाईँहरूले देखिराख्नुभएको छ । धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन् ।’
खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे ।
प्रतिक्रिया