काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री बोल्न जाने क्रममा प्रमुख प्रतिपक्षले देखाएको कार्यशैली दुखद भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपश्चात उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारे जवाफ दिन्छु भन्दा पनि भएको अवरोध दुखद भएको भन्दै यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य नभएको बताएका हुन् । उनले भने, ‘गृहमन्त्रीसँगको प्रश्नउत्तर हिजो प्रतिपक्षका कारणले गर्दा रोकियो, प्रमुख प्रतिपक्षले आजको बैठक रोकौं भोली सहज तरिकाले अगाडि बढौला भन्नु भएको हुनाले हिजोको बैठक रोकेका थियौं । संसदमा गृहमन्त्रीज्यूले जवाफ दिन्छु, समग्र घटनाका बारेमा भनेर भनिसकेपछि गृहमन्त्री बोल्न जाने कुरालाई नै अवरोध गरेर जुन प्रकारको प्रमुख प्रतिपक्षको कार्यशैली थियो यो दुखद छ, यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा वास्तवमा स्वीकार्य हुन सक्दैँन् ।’
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको भन्दै यस्तो तथ्यांकहरु नजरअन्दाज गर्न नहुने बताए । उनले भने, ‘अहिले गृह प्रशासन, मन्त्रालय र वर्तमान गठबन्धनले जे अभ्यास गरेको छ त्यसको विरोध गर्छौँ र हामीले परिकल्पना गरेको व्यवस्था त्यो होईन । भुटानी शरणार्थीको काण्ड भयो, गृहमन्त्रीज्यू आउनु भयो, उहाँले यसको छानबिन गर्नु हुन्छ होला भनेर हाम्रो आशा थियो । तर उहाँ त फाइल बन्द गर्न आउनु भयो । ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको छ । यो २, ४ जना हो । यस्तो हुन दिने भइराख्न दिने, हामी यो तथ्यांकहरु नजरअन्दाज गर्नु ।’ भोली संवैधानिक प्रक्रिया अनुसार बजेट रहेको भन्दै त्यसलाई अवरोध नगर्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया