दाङमा थपिए २५ हजार पाँच सय मतादाता

दाङ । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतादाता थपिएका छन् । पहिलो चरणअन्तर्गत  बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिए ।

 पालिकाका प्रत्येक वडामा फरक फरक समयमा पालैपालो मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए ।

घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितकोे मतदाता नामावली सङ्कलन भइरहेको छ । बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली सङ्कलन हुने भट्टराइले जानकारी दिए ।

उनका अनुसार दैनिक पाँच सयदेखि नौ सयसम्मको नाम दर्ता हुँदै आएको छ । विशेष अभियान सुरु हुनुुपूूर्व दाङमा तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए ।

पछिल्लो समय थप भएका २५ हजार  ५०० सहित चार लाख तीन हजार मतदाता सङ्ख्या पुुगेको छ । नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराइले आग्रह गरेका छन् । 
 

प्रतिक्रिया