विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं कब्जा गर्न कार्यकर्तालाई दिएको निर्देशन गैरजिम्मेवारपूर्ण रहेको बताएका छन् ।
प्रधानमन्त्री तहबाट आएका यस्ता अभिव्यक्ति मानव अधिकारका मूल्यमान्यता विपरीत, लोकतान्त्रिक व्यवस्था, नीति, नियम र सिद्धान्तविपरीत भएको उनको भनाइ छ ।
मान्यता मिचेर गरिने सवैखाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति तथा कार्यहरू निरंकुशताको प्रतीक भएको कोइरालाले टिप्पणी गरे । जीपी कोइराला लेबर फाउन्डेसनद्वारा विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्री जस्तो मानिसले जथाभावी बोल्दै हिड्ने कुरा सुहाउँदो भएन । सरकारले देश चलाउने हो, कि दलले कब्जा गर्ने हो रु’ उनले भने, ‘यसको सबैले विरोध गर्नुपर्छ ।’
नेपाली कांग्रेस केन्द्रीय समितिले राजावादीको आन्दोलन, प्रधानमन्त्री र गृहमन्त्रीको सवालमा छलफल गर्ला भन्ने आफूले ठाने पनि बैठकमा आफ्नैबारे कुरा भएको जानकारी पाएको उनले बताए ।
‘राजावादी आन्दोलन, गृहमन्त्रीको सन्दर्भ र प्रधानमन्त्रीको गतिविधि र अभिव्यक्ति जस्ता जल्दाबल्दा विषयमा छलफल हुनुपर्ने थियो’ कोइरालाले आफू चकित भएको उल्लेख गर्दै भने, ‘तर बैठकमा त मेरा विषयमा पो छलफल भएछ ।’ यसलाई सबैले चासोपूर्वक हेरिरहेको उल्लेख गर्दै उनले कांग्रेस कार्यकर्ताले पनि यो कुरा बुझ्न आवश्यक रहेको बताए ।
गत आइतबार पार्टीको एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै निर्देशनात्मक अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी विरोध भइरहेको छ ।
राजावादी, कांग्रेस महामन्त्री गगन थापा, राप्रपा जस्ता दल र नेताले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गररहेका छन् । नेता कोइरालाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको भन्दै भिजिट भिसा प्रकरणमा नाम जोडिएर विवादास्पद बनेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया