‘मन्त्री एवम प्रधानमन्त्रीको निकट भएकाहरुले नियुक्ती पाउनु अनौठो होइन्’

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा.विजय प्रसाद मिश्रले वहालवाला मन्त्रालयका पदाधिकारीहरु मन्त्री एवम प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा नियुक्त हुने गरेको बताएका छन् ।   

सोमबार ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरु’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको नजिक रहेकाले वहालवाला पदाधिकारीहरु अवकासको समयमा पनि नियुक्त गरिने बताएका हुन् । ‘हामीले देखेको वाहालवाला मन्त्रालयका पदाधिकारीहरु, मन्त्री, प्रधानमन्त्री, सरकार समक्ष निकट हुन्छन् । त्यसैले उहाँहरुले आफ्ना कुरा सिधै पुर्याउन सक्नुहुन्छ । आफ्नो काम गरेर नीति निर्माता, राजनीतिज्ञहरुको मनमा बस्न सक्नुभएको छ । मनमा बसेपछि केही श्रेयभावले पनि उहाँहरुलाई नियुक्त गरौं तुरुन्तै भन्ने विचारधारा निर्माण हुनसक्छ । त्यसले गर्दा पनि अवकासको समयमा पनि नियुक्त गर्ने देखिन्छ ।’
उनले पूर्व प्रशासकहरुको संलग्नतामा नीति निर्माण, प्रतिष्ठान गठन गरी अनुगमनका कामहरु गर्नुपर्ने बताए । 

यस्तै, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने भन्ने कुनै धारणा कसैको नभएको बताए । ‘कसैको पनि कुलिङ पिरियड नराख्ने भन्ने धारणा छैन । अहिले पनि सुशासन ऐनमा स्वार्थको द्धन्द्ध भएको अवस्थामा एक वर्षसम्म पाइँदैन भनेर दफा १८ मा उल्लेख छ । तर त्यो कार्यान्वयन भएको छैन,’ उनले भने । कार्यक्रममा सरकारका पूर्वसचिब कृष्णहरि बाँस्कोटा, डा.दामोदर रेग्मी लगायतको उपस्थिति रहेको थियो ।  
 

प्रतिक्रिया