मुख्यमन्त्री कार्यालय अगाडि सहिद परिवारका सदस्यहरु धर्नामा

जनकपुर । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि मधेश प्रदेशका ८ वटै जिल्लाका शहिद परिवारका सदस्यहरु धर्नामा बसेका छन् ।

विभिन्न ४ वटा माग राख्दै उनीहरु आज दिउँसोदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन ।  उनहरुले मधेशी सहिद प्रतिष्ठानमा अविलम्ब सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नुपर्ने, एक परिवार एक रोजगारी दिनु पर्ने र सहिद परिवारका छोरा छोरीहरुलाई शिक्षामा छात्रवृति दिनु पर्ने माग राखेका छन् । विगतमा आफ्ना समस्याहरु सुनाउन पटक पटक गृहमन्त्री राज कुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरुले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् । उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।

गृहमन्त्री लेखी र मुख्यमन्त्री सिंहले आफूहरुको समस्याको वास्ता नगरे पछि आजदेखि शान्तिपूर्ण धर्नामा बसेको पटेलले बताए । उनले आफूहरुको माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
 

प्रतिक्रिया