काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् ।
सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गरेका हुन् । लेखकले बैठकमा भिजिट भिषा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उहाँमाथि आरोपमात्र लागेको डा.कोइरालाको भनाइ थियो । बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरुलाई कारवाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए ।
बैठकमा डा. शेखर कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारवाहीको कुरा उठेको पनि डा. शशांकले बताए । ‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौं। सभापतिजीले पनि स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भन्नु भएको छैन्, हेर्छुमात्रै भन्नुभएको छ,’ उनले भने । तीन जना नेतालाई स्पष्टीकरण सोध्नैपर्ने डा.शशांकको भनाइ थियो ।
प्रतिक्रिया