उर्जामन्त्रीको मानमर्दनले क्रुध्द छन् मन्त्रालयका कर्मचारी

काठमाडौं । जलस्रोत, सिंचाई तथा ऊर्जा मन्त्री दीपक खड्काले विदेश भ्रमणमा रहेको मौका छोपेर विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेका छन्।  दुई महिना अवधि पनि नपुग्दै यसरी सरुवा गर्नुमा उनको गहिरो स्वार्थ जोडिएको प्रष्ट भएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । 

ऊर्जा सचिव सुरेश आचार्य भुटान भ्रमणमा थिए । त्यसैबेला मन्त्रालयको वैदेशिक सहायता महाशाखाका सहसचिव जीवच्छ मण्डल गत साता भुटान गएको मौका छोपी मन्त्री खड्काले सरुवा गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिएका सहसचिव जीवच्छ मण्डललाई मन्त्री खड्काले वैदेशिक सहायता महाशाखाबाट झिकेर निर्माण अनिश्चित रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कम्पनीमा थन्क्याईदिएका छन् । सचिव आचार्यले साथ दिएका सहसचिब मण्डललाई सचिव नभएको मौका छोपेर उता सरुवा गरिएको हो । 

कुलमानलाई शून्य नम्बर दिएका प्रशासन महाशाखाका सहसचिव शम्भु मरासिनीलाई भने मन्त्री खड्काले छोएका छैनन् ।

बूढीगण्डकीमा दुई महिनाअघि मात्र गएका सहसचिव चिरञ्जीवी चटौतलाई मन्त्रालयको ऊर्जा महाशाखामा तानिएको छ भने ऊर्जा महाशाखाका सहसचिव सन्दीपकुमार देवलाई जल तथा शक्ति आयोग सचिवालयमा पठाईएको छ । देवलाई दुई महिनाअघि मात्रै ऊर्जा महाशाखामा मन्त्री खड्काले नै तानेका थिए । त्यसैगरी विद्युत् विकास विभागका सहसचिव सागरराज गौतम मन्त्रालयको वैदेशिक सहायता महाशाखामा तानिएका छन् । 

यसअघि मन्त्री खड्काले विद्युत् विकास विभागका महानिर्देशक नबीनराज सिंहलाई मन्त्रालय तानेर उनको ठाउँमा मण्डललाई महानिर्देशक बनाउन चिठी नै तयार गरिसकेका थिए । तर त्यसबेला अचानक सिंहको सरुवा रोकिएको थियो । 

मन्त्री खड्काले सिंचाईका सहसचिवहरुको सरुवामा पनि हात हालेका छन् । सिंचाईका डा महेश्वर श्रेष्ठलाई नौमुरे आयोजना प्रमुख बनाइएको छ ।

यसअघि मन्त्री खड्काले सिचाईं विभागका महानिर्देशक चूर्णबहादुर ओलीलाई ल्याएर मन्त्रालयको कोरिडरमा राखेका थिए । ओलीको ठाउँमा मन्त्रालयका सहसचिव सञ्जीव बराललाई लगिएको थियो । बराललाई दुई महिना पनि पुग्न नपाउँदै महानिर्देशकबाट हटाई विभागका देवराज निरौलालाई लगिएको थियो । निरौलालाई पनि दुई महिना टिक्न नदिई पुनः सिंचाईं विभागको महानिर्देशकमा उनै बराललाई लगेका थिए ।

मन्त्री खड्का राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को दरबन्दी भएको सुनकोसी–मरिन डाइभर्सन आयोजना प्रमुख तथा सहसचिव मित्र बराललाई तानी केही महिना मन्त्रालयको कोरिडरमा राखेका थिए । बरालको ठाउँमा राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) का बद्री कार्कीलाई लगिएको थियो। 

अर्का सहसचिव एवं सुनसरी मोरङ सिंचाई आयोजनाका प्रमसख डा कृष्णराज पाठकलाई तानेर नागमती धाप ठ्याममा लगिएको थियो । नागमतिबाट विभागको उपमहानिर्देशक बनाइएका पाठकलाई अहिले जिम्मेवारी नदिई मन्त्रालयको कोरिडरमा राखिएको छ । 

पाठकको ठाउँमा उपसचिव भिलानन्द यादवलाई लगिएको थियो । उनको पनि बागमतीमा सरुवा गरियो, सहसचिवमा पदोन्नति भई त्यहींबाट निवृत्त भए । अहिले सडकबाट आएका द्वितीय श्रेणीका रमेश सिंहलाई सुनसरी मोरङमा लगिएको छ । सुनसरी मोरङमा आएपछि सिंह पनि प्रथम श्रेणीमा बढुवा भइसकेका छन् । 

पाठकलाई नागमती धाप ड्याम आयोजनामा पुर्‍याइएको थियो । त्यहाँबाट उनी विभागको उपमहानिर्देशक भए । हाल उपमहानिर्देशकबाट मन्त्रालयको कोरिडरमा राखिएको छ । 

त्यस्तै सहसचिवको दरबन्दी भएको सिक्टा सिंचाई आयोजना प्रमुख एवं सहसचिव गोपाल शर्मालाई हटाएर उपसचिव राजु आचार्यलाई प्रमुख बनाइएको थियो । 

जानकार सूत्रका अनुसार सिंचाई सचिव सरिता दवाडीले आफू महिला भएका कारण सरुवा नगर्न मन्त्री खड्कासँग अनुनय गरेकी थिइन् । दवाडीलाई सिंचाई सचिव कायमै राख्ने तर सहसचिव र उपसचिव चलाउँदा बोल्न नपाइने शर्त खड्काले राखेका थिए ।

मन्त्री बने लगत्तै सहसचिबहरुको सरुवा गर्दा कुनै अन्यथा लाभ नहेरेको भनेर ढोल पिटाएका मन्त्री खड्का कार्यकालको यो अवधिमा आएपछि धमाधम आफूलाई लाभ हुने गरी कर्मचारीहरुको सरुवा र जिम्मेवारी तोक्न आफैं सक्रिय भएको देखिएको  छ ।  
 

प्रतिक्रिया