काठमाडौं । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’सम्पन्न भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजित उक्त फिनटेक महोत्सव गत बिहीबार काठमाडौंमा भएको हो ।
कार्यक्रमले नेपाललाई विश्व फिनटेक मञ्चमा उभ्याउन सफल भएको आयोजक संस्थाहरुको भनाइ छ । कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करिब चारसय प्रतिनिधिहरूको उपस्थिति थियो । नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौं फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन् । यसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तिव्रता दिदै नेपालको फिनटेकलाई विश्व मञ्चमा दरिलो उपस्थिति गराउने रहेको थियो ।
‘कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो । दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ,’ उनले भने । कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न
पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान पनि गरिएको थियो । यसैगरि सिंगापुरस्थित डीबीएस बैंकका पूर्वचिफ इनोभेशन अफिसर नील क्रसले सफल डिजिटल र सांस्कृतिक रूपान्तरणबारे मन्तव्य दिएका थिए ।
प्रतिक्रिया