भारतले सञ्चालन गरेको 'अपरेशन सिन्दूर'को पक्षमा पूर्व गृहमन्त्री निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सेनाले आतंककारीको विरूद्ध गरेको सफल अपरेशन सिन्दूरकालागि बधाई दिएका छन्। उनले जम्मु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको निन्दा गर्दै आतंकावाद विरुध्द भारतले गरेको कारबाहीको समर्थन गरेका छन् । 

नेता निधिले भनेका छन्, 'पहलगाममा घुम्नगएका नेपाली नागरिक सुदिप न्यैपाने सहित २६ भारतीय पर्यटकलाई आतंककारीहरुले बिनाकारण गोली हानी हत्या गरेको दुखद घटनाको यो स्वाभाविक जबाफ हो। आतंकबाद विरूद्धको संघर्षमा हामी भारतको साथमा छौं।'

यसैगरी नेपाल समाजवादी पार्टी (नेसपा) ले पाकिस्तान प्रशासित कश्मीरमा भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ अन्तर्गत जवाफी हमलाको समर्थन गरेको छ । वैशाख ९ गते जम्बु काश्मीरको पर्यटकीय स्थल पहलगाममा आतङ्कवादी हमलामा परि एक नेपालीसहित २७ जनाले ज्यान गुमाएका थिए ।

जवाफमा भारतले बुधवार राति पाकिस्तान प्रशासित ९ वटा  स्थलमा हवाई आक्रमण गरेको थियो । उक्त हवाई आक्रमणमा परी बुधवारसम्म २६ जनाको मृत्यु र ४६ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।  ‘भारतले पाकिस्तानका ९ वटा  आतङ्ककारी स्थलमा सुरु गरेको अपरेसन सिन्दूर अन्तर्गत आतंककारीहरु माथि गरेको आक्रमणलाई नेपाल समाजवादी पार्टीले समर्थन  गर्दछ ।

'मिति २०८२–०१०९ मा आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतङ्कवाद विरुद्धको कार्यवाही अन्तर्गत पाकिस्तानी आतङ्कवादीको आश्रय स्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण संवर्द्धन तथा  आतङ्कवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ’,   विज्ञप्तिमा उल्लेख छ ।

आज प्रतिनिधिसभाको बैठकमा तीन सांसदले भारत–पाकिस्तानबीच भइरहेको गोलाबारीको विषय उठाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरू रामहरि खतिवडा, मिना तामाङ र मुक्ताकुमारी यादवले भारत–पाकिस्तान तनावको प्रभाव नेपालमा पर्न सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सांसद खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवादविरुद्धको लडाइमा नेपालले साथ दिनुपर्ने बताए । उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’

सांसद मुक्ताकुमारी यादवले दुई देशबीच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराइन् । त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न पनि उनले सरकारसँग आग्रह गरिन् । ‘भारत–पाकिस्तानबीच अहिले गोलाबारी चलिरहेको छ । त्यहाँ नेपालीहरू विभिन्न काममा गएर बसिरहेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा ल्याउनेबारे सरकारले हिल गरोस्,’ सांसद यादवले भनिन् । 
 
साथै सांसद मिना तामाङले  भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सरकारसँग माग गरिन् । सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेकाले प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उनले माग गरिन् ।  (फायल तस्बिर)
 

Bigyapty to day

प्रतिक्रिया