राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सकिदैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

मंगलबारमा आयोजित विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग  विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनपर्ने ? भन्दै प्रश्न गरे । साथै उनले,पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरेका थिए भने प्रश्न पनि गरे । ज्ञानेन्द्रको शासन आएमात्र सहिद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घट्नामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पारे । उनले भने,‘चैत्र १५ गतेको राजावादीको सत्ता विरुद्धको आन्दोलन हो । उनीहरुले सरकार विरुद्धमा अराजकता फैलाए । गणतन्त्र समाप्त पार्न लागेका छन् । लोकतन्त्रका विरुद्धमा राजा ल्याउछु भन्दै गरिएको आन्दोलनमा मान्छे मर्यो । आन्दोलनमा यस्ता घटना त हुन्छ । त्यसलाई सहिद घोषणा गर्नुपर्यो भनेर आन्दोलनकारी वा विरोधीहरु र गणतन्त्रवादीहरुले पनि भन्दै छन् । राजावादीको आन्दोलनमा जाने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिन पर्ने, पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरे ? राजा ज्ञानेन्द्रको शासन आयो भने उसले सहिद घोषणा गर्ने हो, हामीले गर्ने होइन् ।’

त्यस्तै उनले अहिले मुलुकमा खोज पत्रकारिताको असाध्यै धेरै खडेरी परेको बताए । खोज पत्रकारितामा विद्या चापागाईंलाई पुरस्कृत गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले खोज पत्रकारिताको असाध्यै धेरै खडेरी परेको मुलुक हो यो । खोज पत्रकारितामा हामीहरुले विद्या चापागाईंलाई पुरस्कृत गर्नुपर्छ । खोज पत्रकारिताले नै मुलुकको कतिपय समस्या उजागर गरेको छ । पत्रकारिताले नै दार्चुलाको तिङ्करको छाङ्रुका मान्छेहरु सदरमुकाम आउँदाखेरि भारतको बाटो अहिले पनि प्रयोग गर्ने अवस्था रहेछ भन्ने थाहा पायौं । सत्तामा बस्ने मान्छेले आँखा खोल्ने हो भने अब त्यहाँ तुरुन्तै ५० करोड होस् कि ५० अर्ब हो खर्च गरेर बाटो बनाउनुपर्छ् ।’

प्रतिक्रिया