मुगु । दिन प्रतिदिन पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण जलवायु परिवर्तनले देखा परेका समस्याहरुलाई मध्यनजर राख्दै रारामा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना गरिएको छ ।
जलवायु परिवर्तनका कारण प्राणी जगतको अस्तित्व सङ्कटमा पर्न सक्ने कुरालाई सचेत गराउन चलचित्रमार्फत काम गर्न सकिने भएकाले सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको हो । जलवायु परिवर्तनका कारण हिउँ पग्लने, बाढीपहिरो जाने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिहरू हुने र पृथ्वीको तापक्रम वृद्धिका कारण खानेपानीका मुहानहरू सुक्ने भएकाले बसाइसराइलगायतका विविध समस्याहरुका बारेमा महोत्सवमा चर्चा गरिएको छ । चलचित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार र जलवायु परिवर्तनको रोकथामको लागि सन्देश प्रवाह गर्ने उद्देश्यले महत्सव आयोजना गरिएकाले यसले ठूलो प्रभाव पार्ने सोेरु गाँउपालिकाका अध्यक्ष केशर बहादुर शाहीले बताए ।
कर्णाली प्रदेशका बिभिन्न स्थान चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तब्य भएकाले त्यसको प्रचार प्रचार गर्न महोत्सव सान्दर्भिक भएको जिल्ला समन्वय समितिका प्रमुख मन्जन कार्कीको भनाइ छ । रारालाई चलचित्रका माध्यमबाट संसारभरि चिनाउन र जलवायु परिवतनबारे सन्देश दिने हिसाबले महोत्सव आयोजना गरिएको चलचित्र बिकास बोर्डका सल्लाहकार .महेन्द्र कुमार मल्लले जानकारी दिए । रारा क्षेत्रमा रहेका बन, बनस्पति, जैविकता, वातावरणलाई जोगाइराख्न र चलचित्रका माध्यमबाट प्रचार प्रचार जलवायु परिवर्तनबारे जानकारी गराउने हिसावले रारामा चलचित्र पर्यटन जलवायु समिट संचालन गरिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत गोपाल भण्डारीले बताए ।
प्रतिक्रिया