सुरु भयो कक्षा १२ को परीक्षा, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी

काठमाडौं । आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र व्यवस्था गरेको छ । 

सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । 

परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ गरी पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन् । 

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ जना परीक्षार्थी छन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी परिक्षा दिदैछन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको छ । 

त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ। परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भएको छ ।

परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम गर्नेछ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ ।

नेपाल शिक्षक महासंघले सञ्चालन गरेको काठमाडौं केन्द्रित आन्दोलनले अन्योलमा परेको परीक्षाको व्यवस्थापनकाबारेमा अनिश्चितता भैरहेका बेला १२ कक्षाको परीक्षा सुरु भएको छ । यसको पूर्व सन्ध्यामा आन्दोलन स्थगित गरेका शिक्षकहरु भने सर्वत्र आलोचनाको शिकार बनेका छन् । उनीहरुकै कारण पूर्व तयारीको परीक्षा अन्योलमा पर्दा लाखौं विद्यार्थीले तनाव भोग्नुपरेको भनेर विद्यार्थी र अभिभावक समेत शिक्षकहरुसँग क्रुध्द थिए ।  
 

प्रतिक्रिया