विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक हेतेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन् । 

श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको जानकारी गराएका हुन् । उनले भने, ‘आ.व. २०८०–०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब रु. ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा रु. ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ ।’

त्यस्तै उनले, आ.व. २०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको उनको भनाइ छ । ‘यसर्थ महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदाहरु मध्ये संस्थाले रु.७ अर्ब १९ करोड खर्च नलेखेको रु. ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढि लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । समग्रमा आ व. २०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिन्छ । यसमा संभावित दायित्व समेत वापत हुन आउने नोक्सानी संलग्न छैन,’ उनले भने । नेपाल सरकारको प्राधिकरणमा शेयर लगानी रु. २ खर्ब ६ अर्ब ७४ करोड, संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडा तर्फ रु. ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी रु. २ खर्ब ५९ अर्ब १० करोड रहेको पनि उनले जानकारी गराए । 

प्रतिक्रिया