काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख रहेको बताएका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन् । उनले भने, ‘श्रमिक भनेका शारीरिक र मानसिक रुपले आफ्नो क्षमता प्रयोग गरेर वस्तु र सेवा उत्पादन गर्ने समाजको उपयोगी चिजहरु उत्पादन गर्ने मान्छे नै श्रमिक हो । नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख छ । विश्वका २०० देश मध्ये संसारका ३७ औँ सबै भन्दा ठूलो श्रमिक भएको देश नेपाल पनि हो । हामी सानो होइनौं, धेरै श्रमिक भएको मुलुकमा नेपाल पनि पर्छ । हाम्रा दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्छन् ।’
साथै उनले नेपालको सबैभन्दा ठूलो समस्या रोजगारीको भएको बताए । उनले रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य भएको बताए । ‘उनले भने, नेपालको सबैभन्दा ठूलो समस्या भनेको रोजगारीको हो । रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य हो । पुरुष श्रमिक भन्दा महिला श्रमिक बढि रहेको तथ्यांकले देखाएको छ । हामीले श्रमिकहरुलाई अहिले पनि हक अधिकारहरु दिलाउन सकेका छैनौं । राजनीति एउटा तमासा जस्तै भएको छ । जनताहरुलाई झुटा सपना देखाउने, चुनाव जिताउने, सत्तामा गएर जनताले तिरेको जुन कर छ त्यसैमाथि लुट मच्चाउने गरिएको छ ।’
प्रतिक्रिया