विमान उड्दाउड्दै कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड–१९ भएको पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा एक्लिएर बसेको बताएकी छन् । डिसेम्बर २० का दिन शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन् ।

उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग गरेर सङ्क्रमण भएको हो कि भनेर हेरेकी थिइन् । परीक्षणमा सङ्क्रमण देखिएपछि उनी स्वैच्छिक रूपमा उडान अवधिभरि विमानको शौचालयमै बसिन्। विमानका एक कर्मचारीले उनलाई त्यहीँ खानेकुरा र आवश्यक सामाग्री उपलब्ध गराएको उनको भनाइ छ ।

विमान चढ्न जानुअघि कोभिड–१९ परीक्षणको नतिजा पेस गर्नु पर्ने वा नपर्ने प्रष्ट थिएन । ‘यो अप्रत्याशित अनुभव थियो,’ मिशिगन निवासी फोटियोले एनबीसी न्यूजसँग भनेकी छन्। ‘विमानमा १५० यात्रु सवार थिए। मेरो सबैभन्दा ठूलो डर सङ्क्रमण उनीहरूलाई सर्छ कि भन्ने थियो।’

आइसल्यान्डएअर विमानको शौचालयबाट उनले टिकटकमा सार्वजनिक गरेको भिडियो ४० लाख पटकभन्दा बढी हेरिएको छ । उनले आफूलाई अप्ठेरो बेलामा सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा गरेकी छन् ।

फोटियोका अनुसार आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छन् । अहिले विश्वका विभिन्न देशमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट फैलिरहेको छ।

अमेरिकामा पनि उक्त भेरिअन्टबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दो छ । अध्ययनहरूका अनुसार यस भेरिअन्टका लक्षणहरू मन्द छन् तर अन्य भेरियन्टको तुलनामा यसको सङ्क्रमण दर तीव्र छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार विगत सात दिनमा औसतमा २ लाख ७७ हजार नयाँ सङ्क्रमित देखिएका छन्। यो महामारी सुरु भए यताकै उच्च सङ्क्रमण दर हो। तर मृत्युदर र मानिसहरू अस्पताल भर्ना हुने दर सामान्य रहेको छ ।
 

प्रतिक्रिया