मोतिपुर घटनाका मृतकका परिवारलाई  राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले बेमौसमी वर्षापछि बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदलमा गृहमन्त्रालयका सचिवलाई संयोजक तोकिएको थियो । सदस्यहरुमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सङ्घीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव छन् । कार्यदललाई तीन दिनको समयसीमा दिइएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री  कार्कीले कार्यदलले तयार पारेको कार्यविधिका आधारमा थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

बेमौसमी वर्षाका कारण देशभर झण्डै सात अर्ब बराबरको धानबाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । मन्त्री कार्कीले क्षतिका आधारमा पीडितलाई राहत उपलब्ध गराइने बताए । उनले कुश्मामा ४ सय केभी सबस्टेशन र जुम्ला सबस्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा  निरु दाहाल पाण्डेलाई बढुवा गर्ने बैठकले निर्णय गरेको बताए ।

त्यस्तै बैठकले कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने निर्णय भएको छ । यसैगरी बैठकले विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गरेको छ ।

फरक प्रसङ्गमा मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो घोषणाअनुसार नै सबै नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारले सबै प्रकारका प्रयास गरिरहेको जानकारी दिए ।  
साभार : drishyatv.com

प्रतिक्रिया