कोभिड संक्रमण बढेपछि चीनको शीआन सहरमा लकडाउन

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन् । डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन लगाएको हो । बुधबार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन् । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ।

महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ । आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ । शीयानवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन् ।

स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो । यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन । शीयान अवस्थित शान्शी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ । लामो दूरीका बस स्टेशनहरू बन्द भइसकेका छन् तथा सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ ।

शीयान विमानस्थलबाट हुने धेरै उडानहरू स्थगित भएका छन् । अत्यावश्यकबाहेकका व्यापारव्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । राज्यद्वारा सञ्चालित ग्लोबल टाइम्स पत्रिकाका अनुसार गत सप्ताहान्त नै अधिकारीहरूले मदिरालय, व्यायामशाला र चलचित्रघर बन्द गर्न लगाएका थिए ।

सरकारी पक्षका अनुसार अहिले त्यहाँ कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको हो । तर ओमिक्रोनको विषयमा केही उल्लेख गरिएको छैन । सरकारी सञ्चारमाध्यमले यो साता शीयानमा दोहोरो प्रकोप फैलिएको जनाएका छन् ।

त्यहाँ कोभिडबाहेक रक्तस्राव हुने ज्वरो फैलिएको बताइएको छ । चीनले ग्रीष्मकालीन ओलिम्पिक्सका लागि कोभिड–१९ सर्वाधिक ठूलो चुनौती भएको स्वीकारेको छ । कोरोनाभाइसको प्रकोप चीनबाट सुरु भएको थियो । त्यहाँ अहिलेसम्म एक लाख १३ हजार जनाभन्दा बढी मानिसका कोभिड पुष्टि भइसकेको छ भने ४ हजार ८४९ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया