‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन्।

आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिएर अधिकतम सम्बोधन गर्ने आश्वासन दिए।

प्रधानमन्त्री दाहालले भने, “अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदलाई प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ।

छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताए। उनले भने, “हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ।”

प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको पनि बताए। उनले भने, “सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंग्याउन मैले पहल गरिरहेको छु। यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ। सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन्।”(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया