मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्।

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनिप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए। तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थियो भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए।

जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले बताए। (रासस)

प्रतिक्रिया