सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज

काठमाडौँ। फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ। कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको यो फिल्म मङ्गलबारबाट सिनेमाघर एपमा रिलिज भएको हो। विश्वभरका दर्शकले एपमार्फत यो फिल्म हेर्न सक्नेछन्।

२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो फिल्म दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो। सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि रिलिजमा पुनः समस्या आएको थियो।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौलालगायतको अभिनय छ।

सस्पेन्स–थ्रीलर जनरामा बनेको फिल्मका निर्माता अर्जुन कुमार हुन्। यो फिल्म ‘चपली हाइट’को तेस्रो श्रृङ्खला हो।

यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’ जस्ता फिल्म रिलिज भइसकेका छन्।

यो एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।

‘चपली हाइट ३’ हेर्न दुई सय रुपैंयाँ तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया