नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा कांग्रेस लचक

काठमाडौँ। संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा भने लचक देखिएको छ।

सिंहदरबारमा जारी संसदीय दलको बैठकमा आज जेठ १ गते संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने विषयमा छलफल भएको हो। तर, कांग्रेसले नीति तथा कार्यक्रममाथि छलफल भने गर्न नदिने बताइएको छ। निर्णय भने सार्वजनिक भएको छैन।

दिउँसो तीन बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन लचक भएपनि आफ्नो अडान नछाड्ने कांग्रेसको रणनीति छ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।

कांग्रेस संसदीय दलको बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका थिए।

कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई मंगलबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गरेका हुन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया