‘म आफूलाई भगवान मान्दिनँ’: अनमोल केसी

काठमाडौँ। अभिनेता अनमोल केसी यतिबेला करियरको १०औँ वर्षको दौडमा छन्। अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १०औँ फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदैछन्।

दशकको यात्रामा अनमोलले आफूलाई लभरब्वाई, खेलाडी, ग्याङस्टारका रुपमा दर्शकमाझ उभ्याए । यिनै अनमोल टाइम ट्राभलको कथा रहेको फिल्म ‘फर्की फर्की’मा म्याडी चरित्रमा देखिँदैछन्। फिल्मको सार्वजनिक ट्रेलरमा उनले आफूलाई ‘भगवान’ मानेका छन्।

अनमोल फिल्मको संवाद अनुसार आफूले आफूलाई भगवान भनेको बताउँछन्। “वास्तविकतामा म आफूलाई भगवान मान्दिनँ। जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा उसले आफूलाई भगवान महशुस गर्ने हो। यो रामायण वा महाभारतको जस्तो भगवान होइन। फिल्ममा म्याडीले आफू भगवान हो भन्ने कुरामा विश्वास गर्छ”, अनमोल भन्छन्। 

मानिसले कुन बेला आफूलाई भगवान महशुस गर्छ त ? यो प्रश्नमा अनमोलको बुझाई आफ्नै छ। “कसैलाई आफूलाई यो दुनियाँ आफ्नै कब्जामा छ भनेर महान अनुभव गर्छ। उसले आफूले गरेका जे कुरा पनि सही नै हो भन्ने ठान्छ। तब आफूलाई भगवानको महशुस गर्छ”, अनमोल भन्छन्।

अनमोलका अनुसार फिल्मको स्क्रिप्टमा ‘भगवान’ आए पनि दर्शकले म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा हेर्न पाउनेछन्।

अनमोलका लागि वर्ष २०८० सुखद रहेन। उनी अभिनित फिल्म ‘छड्के २’ बक्सअफिसमा फ्लप भएपछि सामाजिक सञ्जालमार्फत फिल्म असफल भएको स्वीकारेका थिए। त्यसैवर्ष एक निर्माताले ‘आपराधिक विश्वासघात’को आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उनी प्रहरी हिरासतमा तीन दिन बसेर रिहा भएका थिए।

यी दुई घटनालाई आफूले नराम्रो सपनाका रुपमा लिने गरेको अनमोल सुनाउँछन्। उनि भनिन्छ, सबै मानिसको जीवनमा एकचोटी साढे ७ को दशा आउँछ। शिवजीको जीवनमा पनि त्यस्तै भएको थियो रे। यी दुई कुरालाई एउटा नराम्रो सपनाको रुपमा लिन्छु”, उनी भन्छन्, “छड्के २को असफलताले मलाई जीवनमा एउटा विन्दुमा पुगेर मेहनत गर्नुपर्छ। मेहनत अझ पुगेको छैन भनेर हौसला दिएको छ। यो नै मेरा लागि महत्वपूर्ण पाठ हो।”

अनमोलका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतीपूर्ण रहेछ। “म गत वर्ष मानसिक रुपमा कमजोर पनि थिएँ। मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो। त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें,” उनी भन्छन्।

दर्शकले आफूलाई ‘फर्की फर्की’मा ‘बेटर एक्टर’का रुपमा देख्न पाउने अनमोलले दाबी गरे। “जुन बेला अभिनय थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’मा अभिनय गरें। यी फिल्मलाई दर्शकले मनपराउनुभयो। अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु। मलाई ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ”, उनले भने।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैछन्। फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया