कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन्।

९३ सदस्यीय प्रदेशसभामा सोमबारको बैठकमा उपस्थित ६२ जना सदस्यमध्ये उनको पक्षमा ५७ जनाले विश्वासको मत दिए। त्यस्तै, उनको विपक्षमा शून्‍य र तटस्थमा पाँच मत खसेको थियो।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए।

कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)को ३, जसपाको १ जना सांसद गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

तर, आजको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ। सरकार गठनको प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै कांग्रेसले विरोध गर्दै आएको छ। कार्की विरुद्ध कांग्रेसका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त दायर गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। पेशी भने जेठ ९ गतेलाई तोकिएको छ।   (नेपाल न्यूज बैंक)

प्रतिक्रिया