किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र

काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाईसकेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पुठमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दा यादव अनिवार्य सहयोगी थिए। उनको अभावमा गठबन्धन बन्न सम्भव थिएन, रातो कार्पेट विछ्याएर बालकोट र बालुवाटारका बैठक कक्षमा यादवको स्वागत हुनेगथ्र्यो। वामपन्थी पृष्ठभूमिका यादव यो गठबन्धनमा स्वाभाविक हिस्सेदार मानिएका थिए।

मधेश प्रदेशको सरकारमा खटपट सुरु भएपछि यादवको उपप्रधानमन्त्री पदको जग हल्लिन थालेको हो। एमाले र माओवादीका शीर्षकै प्रहारबाट आफ्नो पदको जग हलि्लएको मेलोमेसो यादवले अमेरिका प्रवासमा पत्तै पाउन सकेनन्। उनी उतै रहेका बेला यहाँ जसपाको भातभान्सा अलगथलग भैसकेको थियो। अशोक राईले जसपाको छानोको आधा हिस्सा अन्तै सारिसकेका थिए। काठमाडौं फर्किएपछि मात्र यादवले रातारात सम्पन्न भएका राजनीतिक घटनाको नालीबेली थाहा पाएका थिए।

मधेश प्रदेशको सरकारमा उपेन्द्र यादवलाई एक्ल्याउने रणनीतिको पहिलो चरण थियो अशोक राईको आकस्मिक विद्रोह। त्यसपछि एमाले र माओवादीको  सत्ता त्याग थियो दोस्रो चरण। तेस्रो चरणको चाल उपेन्द्रलाई उपप्रधानमन्त्रीबाट विदा गरेर पूरा भएको छ।

यी सबै राजनीतिक घटनाक्रममा प्रधानमन्त्री दाहालले आज्ञाकारी बनेर एमाले अध्यक्ष ओलीको योजना कार्यान्वयन गरेको देखिन्छ। आफूले चाहेर राजीनामा गराएको होइन भनेर यादवलाई दाहालको सन्देश पुग्नुले यही कुराको संकेत गर्दछ। यादवलाई हटाउन आएको ओलीको सुझावलाई राजीनामा गराएर दाहालले यादवको प्रतिष्ठा जोगाउन सहयोग गरेको देखिन्छ।

सत्ता गठबन्धनको खेल कसरी अगाडि बढ्छ भन्ने कुरा सरकारले जेठ १ गते संसदको संयुक्त सदनमा प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रमपछि प्रस्ट हुँदैजाने छ।

उपेन्द्रको उदय

कुनैबेला मधेशको राजनीति तताउन अग्रणी थिए उपेन्द्र यादव। पहिलो मानिएको मधेश आन्दोलनबाट त्यहाँको राजनीतिमा अगुवा भएर प्रकट भएका उनले राष्ट्रिय राजनीतिमा पनि स्थान पाउन थाले। ठूला दलका शीर्षस्थसँग उठबस सुरु भएपछि मधेशका मुद्दा स्थापित गराउन उनलाई सहज पनि हुँदै गएको थियो।

राष्ट्रिय राजनीतिमा आरोहण गर्नुअघि विराटनगरमा शिक्षण पेशामा लागेका यादवले सन् १९९७ मा मधेशी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गरेका थिए। त्यही मञ्चबाट उनी मधेश राजनीतिमा होमिएका थिए। राजदरबारदेखि माओवादीसम्मको नियमित उठबसपछि मधेशमा अग्रणी देखिएका यादवको यात्रा भने त्यति सहज र एकनासको रहेन।

२०६३–६४ को मधेश आन्दोलनबाट उनी राजनीतिको शिखरमा पुगे। आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश एक प्रदेश र संघीयता, समावेशीको मुद्दा उठाएर उनी राजनीतिमा दरिलो रुपमा स्थापित मात्र भएनन् पटक पटक उपप्रधानदेखि मन्त्रीसम्मको कुर्सीमा बसेर रजगज गरे। नेपालमा संकटकाल चलेका बेला भारतीय जेलमा समेत बसेका उनी ०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी दुई स्थानबाट चुनाव जितेर राजनीतिमा फड्को मारे।

पहिलो संविधान सभामा मोरङ ५ र सुनसरी ५ बाट विजयी भएका उनी पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेर उदाए। दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सोही दुई स्थानबाट चुनावमा उठे पनि मोरङमा पराजित भए। तर सुनसरीमा विजयी भए।

दोस्रो संविधानसभापछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग उनले एकीकरण गरेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेका थिए। ०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी सप्तरी २ बाट निर्वाचित भए। यससँगै उनी तीन पटक लगातार जितेर ‘ह्याट्रीक’ गर्ने नेतामा कहलिए।

फुट–जुटको नियमित श्रृखलाका कारण उपेन्द्रको अबको यात्राका बारेमा विभिन्न अडकलबाजी शुरु भएको छ। उनी मधेशमा सिके राउत भन्दा पनि कमजोर भइसकेको अनुमान लगाउन थालिएको छ। सँधै सत्ताकै लोभमा फस्दा उपेन्द्र यतिबेला कमजोर मात्र भएका छैनन् सत्ताबाटै बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ।

२०६३ सालको अन्तरिम संविधान जलाएर मधेश विद्रोह गरेका उनी सप्तरी निर्वाचन क्षेत्र–२ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग ठूलो मतान्तरले पराजीत भए। त्यसले उनको राजनीतिक यात्रामा ठूलै धक्का लागेको ठानिएको थियो।

शक्तिमा पुगेपछि पार्टी, राज्यसत्ता र अन्य अवसरमा ‘यादववाद’ लाई प्रोत्साहन गरेको उनीमाथि आरोप लाग्ने गर्दछ। कहिले महन्थ ठाकुर र राजेन्द्र महतोसँग, कहिले डा.बाबुराम भट्टराईसँग त कहिले अशोक राईसँग मिलेर राजनीतिमा एकछत्त राज गरेका यादव अब एक्लो बन्दै गएका छन्।

पटक पटक पार्टी फुटाउँदै आफूलाई केन्द्रविन्दुमा रहने बानी परेका यादवलाई यतिबेला भने बहुसंख्यक सांसदले पनि साथ् छोडेका छन्। उनकै नेतृत्वमा हासिल भएको १२ प्रतिनिधि सभा सदस्यमध्ये ७ जना अशोक राईसँग सरेका छन्। पार्टीको सबै तहमा यसको असर परेको देखिन्छ।

जनकपुरमा आगामी जेठको अन्तिम साता राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहँदा राई पक्षधरहरुले पार्टी छाडेर नयाँ पार्टी दर्ता गरिसकेकाले यादव राजनीतिक संकटमा छन्।

अशोक राईसँगै बहुमत सांसद अग्गिनु र सत्ताबाट पनि अनपेक्षित रुपमा विदा पाउनु उपेन्द्र यादवका लागि दुवै हातका लड्डु भुँइमा खसेजस्तो भएको छ।

सत्ता राजनीतिमा अक्सर दुवै हातमा लड्डु पाउने गरेका यादवलाई सत्ताबाट जमीनमा झरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र अरु मधेशवादी नेताले स्वागतका लागि अनिच्छा प्रकट गरेको देखिएको छ।   (नेपाल न्यूज बैंक)

प्रतिक्रिया