प्रधानन्यायाधीशका सम्बन्धमा उपयुक्त निर्णय लिन नेपाल बारले सबै दललाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए ।

यस्तै, बारले उपत्यका बाहिरका अदालतहरूमा कात्तिक २८, २९ र ३० गते कालोपट्टी बाँधेर आन्दोलन गर्नेसमेत निर्णय गरेको छ । बारले सर्वोच्च अदालत परिसरमा राखिएका दंगा प्रहरी हटाउनसमेत माग गरेको छ ।

त्यस्तै बैठकले प्रधानन्यायाधीश जबराका सम्बन्धमा उपयुक्त निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाउने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले वर्तमान आन्दोलनबारे आम जनतालाई जानकारी गराउनका लागि चाँडै स्वेतपत्र जारी गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रधानन्यायाधीशले बोलाउने न्याय परिषद् बैठकमा नजान र अनुपस्थित हुन सबै सदस्यहरूलाई आग्रह गरेको छ । बारले आन्दोलनका थप कार्यक्रम कात्तिक ३० गते बैठक बसी सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया