उपनिर्वाचन इलाम: कांग्रेसले डम्बर खड्कालाई तोक्यो उम्मेदवार

 काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनका लागि जिल्लाका पार्टी सभापति डम्बर खड्कालाई उमेदवार बनाएको छ ।

सभापति शेरबहादुर देउवाले तीनदिन चलाएको बहसपछि उनकै पक्षका खड्का उम्मेदवार तोकिएका हुन् । देउवाले पार्टीभित्रको मूल्यांकन भन्दा पनि गुटको प्रभावमा यो निर्णय गरेको भनेर आलोचना सुरु भएको छ । 

विहीबार विहान सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो । इलामका प्रमुख आकाक्षी भेषराज आचार्यसँग भने अन्तिम समयमा कुनै सरसल्लाह नगरेको प्रतिक्रिया दिएका छन् । 

विहीबार बसेको बोर्ड बैठकले इलाम–२ मा खड्का र बझाङ १(क)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले अब कार्य सम्पादन समितिलाई नाम सिफारिस गर्नेछ । उमेदवारको टुंगो लगाउन मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहेपनि विहीबार भने उम्मेदवारी टुङ्याएको    हो । 

खड्का गत निर्वाचनमा झिनो मतले एमालेका उम्मेदवार सुवास नेम्वाङ्गसँग पराजित भएका थिए । नेम्वाङ्गको गत भदौमा निधन भएपछि यहाँ उपनिर्वाचन हुनलागेको हो । एमालेले नेम्वाङ्गकै कान्छा छोरा सुहाङ्गलाई उम्मेदवार तोकिसकेको छ । हिजो बाबुसँग प्रतिष्पर्धा गरेका खड्काले अब छोरासँग भिड्नुपरेको छ । 
 

प्रतिक्रिया