नेप्सेमा १०.१४ अंकको बढोत्तरी, सूचक बढे पनि कारोबार घट्यो

काठमाडौँ। सेयर बजार परिसूचक नेप्से मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको छ। सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा आज सूचकमा सुधार भए पनि कारोबार रकम भने अपेक्षाकृतरुपमा बढेको छैन। 

कारोबार रकम २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ छ। सोमबार बजार घट्दा पनि कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ थियो। गत साताको अन्तिम दिन बिहीबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो। 

आज १६८ कम्पनीका सेयरमूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो। १३ मध्ये फाइनान्स, जीवन बीमा र व्यापार उपसमूहबाहेक सबै बढेकाले परिसूचक बढेको हो। 

घटेको बजारमा पनि दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टका सेयर बढेर पोजेटिभ सर्किट लागेको छ। सर्वोत्तम सिमेन्टको सेयरमा लगातार पाँचौ दिन पोजेटिम सर्किट लागेर प्रतिकित्ता ८ सय ९५ रुपैयाँ पुगेको छ। बढेको अर्को कम्पनीमा वीन नेपाल लघुवित्त छ।

सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट छ। उक्त कम्पनीको ९ करोड ३१ लाखको सेयर किनबेच भएको छ। यस्तै सोनापुर मिनरल्सको ८ करोड ५७ लाखको सेयर कारोबार भएको छ। 

आज सर्वाधिक घटेकाको सूचीमा धौलागिरी लघुवित्त पहिलो नम्बरमा छ। भगवती हाइड्रोपावर, कुमारी धनवृद्धि योजना, लक्ष्मी भ्यालु फण्ड–२, मानुषी लघुवित्तलगायत घटेका छन्।  (नेपाल न्यूज बैंक)     

प्रतिक्रिया