खराब व्यवहारका कारण ६ पटक प्रतिबन्धमा परेका थिए प्रकाश राज

मुम्बई। बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन्। ३८ वर्षको फिल्मी करियरमा उने तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन्। उनले ५ नेशनल अवार्ड, ५ फिल्म फेयर र ३ विजय अवार्ड पाइसकेका छन्।

प्रकाश अभिनयका अलावा भड्काउ बोलीका लागि पनि परिचित छन्। यसकै कारण उनले फिल्म उद्योगबाट ६ पटक प्रतिबन्धको सामना गरिसकेका छन्। उनको व्यक्तिगत जीवन पनि निकै समस्याग्रस्त बन्न पग्यो। ५ वर्षका छोराको निधन पछि उनको व्यक्तिगत जीवन पूर्ण रुपमा परिवर्तन भयो।

बेङ्लोरमा जन्म

प्रकाश राजको जन्म २६ मार्च १९६५ मा बेङ्लोरमा भएको थियो। उनका पिता हिन्दु थिए भने आमा रोमन क्याथोलिक। उनका एक भाई प्रसाद राज पनि छन्, जो हिरोको रुपमा फिल्म उद्योगमा काम गर्छन्। उनको सुरुवाती पढाई सेन्ट जोसेफ इन्डियन हाइ स्कुलमा भयो। त्यसपछिको बाँकी पढाई भने बेङ्लोरका सेन्ट जोसेफ कलेज अफ कमर्समा भयो।

सडक नाटकमा काम गरेर ३ सय कमाउँथे

प्रकाशले सुरुवाती समयमा थिएटरमा काम गरे। यसबाहेक उनले सडक नाटक पनि गर्थे। उनले थिएटरमा काम गर्दा महिनाको ३ सय रुपैंयाँ पारिश्रमिक पाउँथे। यसपछि उने टेलिभिजन सिरियलमा काम गर्न थाले। त्यसपछि विस्तारै फिल्मतिर पाइला चाले।

उनले कन्नड, तमिल, मराठी, मलयाली र हिन्दी फिल्ममा काम गरेका छन्। उनले फिल्ममा कैयौं चरित्र निभाएका छन्। तर उनलाई दर्शकले बढी भिलेन चरित्रमै मनपराए। उनले अभिनयका लागि नेशनल अवार्ड पनि जितेका छन्। उनले फिल्ममा अभिनयका अलावा निर्देशन पनि गरेका छन्। उनले फिल्मका लागि आफ्नो नाम प्रकाश रायबाट प्रकाश राज राखेका थिए।

सलमानको ‘वान्टेड’बाट बलिउड प्रवेश

प्रकाश राज साउथ फिल्म उद्योगका सुपरस्टार हुन्, उनले बलिउडमा पनि अभिनयबाट अलग पहिचान बनाए। प्रकाशले सन् २००९ मा फिल्म ‘वान्टेड’बाट बलिउडमा पाइला चाले। यसपछि उनले ‘सिंघम’, ‘दबंग–२’, ‘मुम्बई मिरर’, ‘पुलिसगिरी’, ‘हीरोपन्ती’, ‘जञ्जीर’ जस्ता फिल्ममा भिलेन चरित्रमा आफूलाई स्थापित गराए।

६ पटक प्रतिबन्ध

तलिम फिल्म निर्माताले प्रकाश राजमाथि उद्योगमा काम गर्ने र खराब व्यवहारको कारण जनाउँदै ६ पटक प्रतिबन्ध लगाएको थियो। आफू प्रतिबन्धमा परेपछि प्रकाशले “म आफ्नो नियम कानूनको पालना गर्छु । यसबाट पछि हट्न सक्दिनँ” भनेका थिए।

यद्यपि उनको प्रतिबन्धमाथि साउथ फिल्म उद्योग र मिडियामा उनीमाथि केही हिरो र निर्माताले मिलेर षड्यन्त्र गरेको खबर सार्वजनिक भएको थियो।

छोराको मृत्यु बन्यो पहिलो सम्बन्धविच्छेदको कारक

प्रकाश राजले सन् १९९४ मा अभिनेत्री ललिता कुमारीसँग विवाह गरेका थिए। यो विवाहबाट उनको छोरी मेघना, पूजा र एक छोरा सिद्धु जन्मिएका थिए। प्रकाशको जिन्दगी राम्रै चलिरहेको थियो। छोराको अचानक निधन भएपछि उनको सबै कुरा बिग्रदै गयो। 

सन् २००४ मा चङ्गा उडाउँदै गर्दा ५ वर्षका छोरा सिद्धु घरबाट लडेका थिए। चोट यति गहिरो लाग्यो कि डाक्टरले समेत बचाउन सकेनन्। छोराको मृत्युपछि उनले आफ्नो खेतमा छोराको शव जलाएका थिए। “म कैयौं पटक त्यहाँ जान्थें। त्यहाँ जाँदा म कति लाचार छु भन्ने लाग्थ्यो। मलाई छोरी प्रति उत्तिकै प्रेम छ, तर छोराको अहिले पनि सम्झना आइरहन्छ,” उनी भन्छन्।

छोराको मृत्युपछि प्रकाश राज र श्रीमति ललिताबीच मनमुटाव शुरु भयो। यही मनमुटावका कारण उनीहरुले सन् २००९ मा सम्बन्धविच्छेद गरे।

१२ वर्षे कान्छी कोरियोग्राफरसँग विवाह

ललितासँग सम्बन्धविच्छेद पछि उनले सन् २०१० मा आफूना १२ वर्षे कान्छी कोरियोग्राफर पोनी बर्मासँग विवाह गरे। विवाहको पाँच वर्षपछि पोनीले छोरा वेदान्तलाई जन्म दिइन्।

५० करोडका मालिक

प्रकाश राजको कुल सम्पत्ति ५० करोड रुपैंयाँ छ। उनी एक फिल्मका लागि २ करोड ५० लाख लाख पारिश्रमिक लिन्छन्। उनले फिल्म, टेलिभिजन र स्टेज शोको प्रोडक्सनबाट पनि पैसा कमाउँछन्। उनी आफ्नो प्रोडक्सन कम्पनी डुएट मुभिजका मालिक हुन्। उनीसँग मुम्बई र चेन्नईमा घरसँगै एक फार्महाउस पनि छ।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया