नेपाल गजल प्रतिष्ठानले बुँद राना र बिनोद बिम्बितलाई पुरस्कृत गर्ने

काठमाडौँ। नेपाल गजल प्रतिष्ठानले यस वर्ष बरिष्ठ गजलकार एक जना तथा नवोदित गजल साधक एक जना गरी दुई जना गजल साधकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ।

स्थापनापश्चात् पहिलो पटक प्रदान गर्न लागिएको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान- २०८०’ एवं ‘के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मान २०८०’ क्रमशः बरिष्ठ गजलकार प्राज्ञ बूँद राना र नवोदित गजल साधक बिनोद बिम्बितलाई प्रदान गरिने भएको छ।

३५ हजार रुपैयाँ नगद राशिको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान’को स्थापनाकर्ता काठमाडौँ महानगरपालिका १४ निवासी दीपशिखा शर्मा हुन् भने १५ हजार रुपैयाँ नगद राशिको के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मानको स्थापनाकर्ता कालिन्चोक ९, दोलखा निबासी गजलकार प्रदीपकुमार मैनाली हुन्।

उक्त दुवै पुरस्कार एवं सम्मान प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवको अवसर पारेर २०८० चैत १७ गते आयोजना गरेको ‘साङ्गीतिक गजल गुञ्जन’ कार्यक्रमका अवसरमा प्रदान गरिनेछ।

यस सटकको साङ्गीतिक गजल गुञ्जनमा स्थापित र नवगायकरगायिकाले गजल प्रस्तुत गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताए। प्रतिष्ठानले हरेक २ महिनामा गजल मुशायरासमेत गर्दै आएको उनले जानकारी दिए।

यस पटकको साङ्गीतिक गजल गुञ्जन चैत १७ गते दिउँसो १२ बजे राष्ट्रिय नाचघर, जमलमा हुने बताइएको छ। दुवै पुरस्कार तथा सम्मान छनोट समितिमा गजलकारहरू रवि प्राञ्जल, करुण थापा, टक गुरुङ, आवाज शर्मा र प्रमोद थापा थिए।

प्रतिक्रिया