‘महाजात्रा’ प्रिमियर: अभिनय र कथाको प्रशंसा

काठमाडौँ। यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरेको छ। फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन्।

अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ गरे। “फिल्म राम्रो र रमाइलो बनेको छ। कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ। यसले सन्देश पनि जात्राकै शैलीमा दिएको छ। परिवारसँग बसेर हेर्ने फिल्म बनेको छ”, अभिनेता श्रेष्ठले भने।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमुलक फिल्म बनेको प्रतिक्रिया दिईन्। “फिल्म हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन। किनकी समग्रमा नै फिल्म राम्रो बनेको छ। कलाकारले पनि नियमित देखिइरहने भन्दा फरक अभिनय गरेका छन्”, दीपाले भनिन्।

अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई आइरहेको फिल्मले पुरा गरेको बताइन। “हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि घट्न दिएको छैन, पुरा भएको छ। यसको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ। यो एक हेर्नै पर्ने फिल्म बनेको छ। यो धित मर्ने फिल्म बनेको छ”, अभिनेत्री अधिकारीले भनिन्।

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए। “जात्रा देखि नै बनिरहेको शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन्। एकदमै हाँस्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ”, उनले भने।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरहदा ‘बलिदान’ फिल्मको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिईन्। “जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन्। यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन। मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन्, म दर्शकलाई पनि फिल्म हलमा स–परिवार हेर्न आग्रह गर्छु”, अभिनेत्री अधिकारीले भनिन्।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले फिल्ममार्फत राजनीतिज्ञले सन्देश पाउने बताए। अर्का हास्यकलाकार किरण केसीले फिल्मले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए। अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा फिल्ममा पाएको बताइन। “हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु। प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ। यसमा हँसाएरै सन्देश दिइएको छ। हामीले शब्दमा व्याख्या गर्नुभन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ”, अभिनेत्री शर्माले भनिन्।

अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। “मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नुभयो। स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु”, अभिनेता आचार्यले भने। 

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिकि्रयाले डर भागेको बताए। “हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ। हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समुहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ। जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ”, निर्देशक भट्टराईले भने।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया