कांग्रेसले आज पनि संसद् अवरोध गर्ने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ। सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो।

सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखकारुपमा कार्य गर्न नमिल्ने भनेको छ। कांग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि कांग्रेसले अडान छोडेको छैन। 

सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेस सांसद रामहति खतिवडाले बताए। “कुनै पनि आरोप लागेको व्यक्ति त्यस्तो अपराध अनुसन्धान गर्ने निकायको प्रमुख बन्न सक्दैन, मिल्दैन। उहाँहरूको जवाफ चित्तबुझ्दो छैन,” सांसद खतिवडाले भने, “रवि लामिछानेमाथि मात्रै होइन, समग्र सहकारीमा भइरहेको ठगीका विषयमा छानविन गर्ने संसदीय छानविन समिति बनाउनुपर्छ, त्यस्तो छानविन समिति नबनेसम्म संसद् चल्न सक्दैन। हामीले संसद् कसरी चलाउने भन्ने जिम्मेवारी सत्तापक्षलाई सुम्पेका छौँ।”

उनले निर्दोष व्यक्ति कुनै पनि छानविनबाट भाग्नुपर्ने अवस्था नरहेको बताए। “बास्तवमा यो रास्वपाले लिएर आउनुपर्ने माग हो। अहिले त हामीले राखिदिएका छौँ। हिजो उहाँहरूले आरोेपमात्रै लगाउनुभयो, छानविनको हिम्मत गर्नुभएन,” उनले भने, “हामीले त उहाँहरुमाथि लागेको आरोपलाई दुधको दुध, पानीको पानी छुट्याउन छानविन गरौँ भनिरहेका छौँ।”

यदि गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष हो भने छानविनबाट डराएर भाग्नुनपर्ने उनको भनाइ छ। गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको पैसा अपचलन गरेको विषयमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए। तत्कालै लामिछानेले आफूले त्यस्तो ऋण नलिएको दाबी गरेका थिए। तर छानविन प्रतिवेदनहरूले भने लामिछानेले सहकारीको पैसा अपचलन गरेको प्रष्टसँग औंल्याएका छन्। 

मंगलबारै प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय छानविन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानविन नथालेसम्म संसद् चल्न नदिने बताएका थिए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया