अक्षयकुमारको ‘सूर्यवंशी’ मालामाल



काठमाडौं । काठमाडौंका हलहरुमा दुइ वर्षअघिको रौनक सुरु भएको छ । दर्शक पपकर्न र कफी खाँदै हलमा चलचित्र हेर्न ओइरीन थालेका छन् । 

लकडाउनका कारण घरमै खुम्चीएर यूटयूब र नेटफ्लीक्स आदिमा चलचित्र हेरिरहेका दर्शकले पुनः फराकिलो रजतपटमा चलचित्रको स्वाद लिन थालेका छन् । 

बस, चलचित्र राम्रो हुनुपर्छ, दर्शकको कमी हुँदैन भन्ने मान्यता स्थापित गरिदिएको छ, बलिउड चलचित्र ‘सूर्यवंशी’ले । 

सुखद संयोग नै हो, भारत र नेपालमा हलहरु खुल्नासाथ दर्शकले सुपरस्टार अक्षयकुमारको चलचित्र हेर्न पाए, जसले हिन्दी भारत र नेपालमा तहल्का मच्चाइरहेको छ । 

रोहित सेट्ठीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार, अजय देवगण, रणवीर सिंह, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ ।

१९ कार्तिक शुक्रबार प्रदर्शनमा आएको ‘सूर्यवंशी’ले भारतीय बक्स अफिसमा दुई दिनमै ५० करोड बढी भारुको व्यापार गर्यो । शुक्रबार २६ करोड २९ लाख भारु कमाएको चलचित्रले शनिबार २३ करोड ८५ लाख कमायो । 

कोरोना महामारीपछि ‘सूर्यवंशी’ नै सय करोड भारु कमाउने पहिलो बलिउड चलचित्र बन्दैछ । भारतिय मिडियाले यसलाई सन् २०२१ कै ‘मालदार भूमि’को संज्ञा दिएका छन् । 

यो चलचित्रले नेपालमा पनि उत्तिकै कमाएको छ । वितरक मनोज राठीका अनुसार नेपालभरीका एक सयवटा हलमा रिलिज भएको चलचित्र हेर्न दर्शकको ओइरो छ । 

हल खुल्नासाथ नेपालमा सोभित बस्नेतको ‘बर पिपल’ प्रदर्शन भएको थियो, जसले अपेक्षित दर्शक बटुल्न सकेन । यसबाट परम्परागत ढर्रराका चलचित्रलाई दर्शकले रुचाउन छाडेको देखिन्छ । 

‘लूट’, ‘जात्रा’, ‘छक्कापन्जा’ आदि चलचित्रले उक्साएको नेपाली उद्योगमा पुनः यस्तै चलचित्रको अभाव छ । 

सुखद पक्ष के हो भने, ‘छक्कापन्जा’ युनिटले यसको चौथो सिक्वेल निर्माण गर्दैछ । चलचित्र निर्माण प्रारम्भ नहुँदै दिपकराज गिरीले यसको ट्रेलर हलहरुमा देखाउन थालेका छन् । 

अर्थात ‘सूर्ववंशी’ले बजार पिटिरहेका बेला नेपाली चलचित्रकर्मीले पनि ‘हामी कम छैनौं’ भन्ने सन्देश दिएका छन् । चलचित्र नबन्दै ट्रेलर सार्वजनिक गरेर छक्कापन्जा युनिटले आफ्नो आक्रामक तयारीको झल्को दिनु सुखद पक्ष हो । 
 

प्रतिक्रिया