नेप्सेमा दोहोरो अंकको गिरावट, १९६ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौँ। यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ। २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ।

आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ। १३ उपसमूह सबै घटेका छन्। सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ। जीवन बीमा २.६५ प्रतिशतले घटेको छ।

आज सर्वाधिक नोक्सानीमा स्वाभिमान लघुवित्तका लगानीकर्ता छन्। जाल्पा, धौलागिरी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एनआइसी एसिया लघुवित्त धेरै घट्ने सेयरका सूचीमा रहे।

आज १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ छ । बजार घटेको दिन पनि वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयर भने सर्किट स्तरमा बढेको छ । गुराँस लघुवित्तको पनि बढेको छ। 

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा माथिल्लो तामाकोसी अघि आएको छ। उक्त जलविद्युत कम्पनीको २७ लाख ६८ हजार ७ सय ६५ कित्ता सेयर ५० करोड ८ लाखमा किनबेच भएको छ। यस्तै शिवम् सिमेन्टको २४ करोड ४ लाख, सोनापुर मिनरल्सको १६ करोड २४ लाख, गुर्खाज फाइनान्सको १२ करोड ७६ लाख र हिमालयन रिइन्स्योरेन्सको सेयर ९ करोड ८४ लाखको किनबेच भएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया