गौरवका आयोजनाको लागत वृद्धिमा प्रमुखहरु नै जिम्मेवार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको लागत बढेमा आयोजना प्रमुखहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन्। 

गौरवका आयोजनाहरुको प्रगतिबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका उनले कार्य सम्पादनको गति बढाउन निर्देशन दिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थानको जानकारी लिएका हुन्। 

आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरि निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन उनले मन्त्रालयलाई निर्देशन दिए।

बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका थिए। 

कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत र वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काम भइरहेको विवरण पेस गरे। 

त्यसैगरि उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको भौतिक प्रगति ६३ प्रतिशत र वित्तीय प्रगति ५५.७ प्रतिशत रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको उल्लेख गरे। 

छलफलमा प्रधानमन्त्री दाहालले भने, “पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन्। तर, जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निराशाजस्तो देखिएको छ। यति धेरै काम हुँदा हामीले जनतालाई सही ढंगले प्रशिक्षित गर्नुपर्छ।”(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया