‘भन्सालीसँग काम गर्नु हाम्रा लागि सौभाग्य हो’ : मनीषा

मुम्बई । अभिनेत्री मनीषा कोइराला बलिउड निर्देशक सञ्जय लीला भन्सालीको ‘हीरामण्डी’मा देखिँदैछिन् । यो वेब सिरिजमार्फत भन्सालीले ओटीटीमा डेब्यू गर्दैछन् । सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, संजीदा शेखलगायतको अभिनय छ ।

हालैमात्र मनीषाले निर्देशक भन्सालीसँग काम गर्दाको अनुभव साझा गरिन् । यो वेब सिरिजमार्फत मनीषा २८ वर्षपछि भन्सालीसँग सहकार्य गर्दैछिन् ।

मनीषाले पहिलोपटक सञ्जयको फिल्म ‘खामोशी–द म्युजिकल’मा काम गरेकी थिइन् । सन् १९९६ मा रिलिज यो फिल्म भन्सालीको पहिलो फिल्म थियो । फिल्ममा सलमान खानको पनि अभिनय थियो ।

हालैमात्र मनीषाले ‘खामोशी’को समय र ‘हीरामण्डी’मा भन्सालीका साथ काम गर्दाको अनुभव साझा गरिन् । ‘हामी सबै आफ्नो उत्कृष्ट काम दिने प्रयास गरेका छौं । किनकी हामी सबै एक मास्टरका साथ काम गरिरहेका छौं । ‘खामोशी’सँगै एक लामो वर्षपछि काम गर्नु यो भन्दा राम्रो हुन सक्दैन थियो ।

मैले उहाँलाई कलाकारका रुपमा विकसित हुँदै गरेको देखेकी छु ।  उनी देशका उत्कृष्ट कलाकार हुन् । महान फिल्म निर्माता हुन् । उनीसँग काम गर्नु हाम्रा लागि सौभाग्य हो,’ उनले भनेकी छन् ।

‘हीरामण्डीः द डायमण्ड बाजार’ यो वर्षको अन्त्यमा नेटफ्लिक्समा रिलिज हुँदैछ । केही दिनअघि नेटफ्लिक्सले आफ्नो इभेन्ट ‘नेक्स्ट अन नेटफ्लिक्स इण्डिया’ मा यो सिरिजका कलाकारको पोस्टर जारी गरेको थियो ।

भन्साली बलिउडमा खर्चाली निर्देशकका रुपमा चिनिन्छन् । उनी फिल्ममा सेट प्रयोग गर्नमा सौखिन छन् । उनको डेब्यू सिरिजमा यो कुरालाई देख्न सकिन्छ । ‘हीरामण्डी’का लागि भन्सालीले निकै भव्य सेट तयार पारेका छन् ।
 

प्रतिक्रिया