एमालेको नाराबाजीका कारण संसद बैठक पुस ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेले मंगलबारदेखि शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा जस्तै एमालेले हिउँदे अधिवेशनको पहिलो दिनमै प्रतिनिधसभामा नाराबाजी गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् । मंगलबारको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गरिएको छ । बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसा बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् ।

उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका थिए । त्यस्तै बैठकमा रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गरिएको थियो । बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि सभामुखले पुस ६ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया