फेरिँदै समीकरणः देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा?

-युवराज गौतम

काठमाडौं । राष्ट्रिय सभाको नयाँ नेतृत्व चुन्ने समय नजिक आएपनि दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने यतिञ्जेल टुंगो लागिसकेको छैन्। सत्ता गठबन्धन दलहरु नै अहिलेसम्म सदनको माथिल्लो सदनको नेता चुन्ने बिषयमा मौन देखिन्छन् भने विपक्षसँग आफ्नो उम्मेदवार खडा गरेर जिताउने अंकगणित पुग्दैन। 

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते मंगलबार हुनेछ। १७ र १८ फागुनमा पदावधि सकिएर घर फर्किन लागेका सदस्यहरुलाई उनीहरुको अनुभव सुनाउने समय छुट्याईएको छ। २१ गते नवनिर्वाचित सदस्यहरुको शपथ र स्वागत कार्यक्रम रहेको राष्ट्रिय सभा सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

हालै सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य चुनिएका छन्, उनीहरुको पदावधि आगामी २०८६ फागुन २० सम्म छ वर्ष कायम रहने छ। 

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनले नै राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो उम्मेदवारलाई जिताउन सक्छन्। वर्तमान सत्ता गठबन्धन तलबितलमा नपरेसम्म यो अंकगणित नै निर्णायक हुने निश्चित देखिन्छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएका दलहरु कुनै विशेष कारणले अलग नहुँदासम्म संघीय संसदका दुवै सदनमा उनीहरुकै बहुमत छ। सभामुखको निर्वाचनपछि छोटो समयमै गठबन्धन परिवर्तन भएपछि एमाले दुवै सदनमा निर्णायक भूमिकामा छैन। तर आउने निर्वाचनमा भने यही गठबन्धन अनुसारको परिणाम आउनेमा शंका गरिँदैछ।

कांग्रेस महासमितिको असर

नेपाली कांग्रेसको महासमिति बैठकको एक राजनीतिक निर्णय प्रकाशमा आएपछि गठबन्धनको नेतृत्व गरिरहेको माओवादी केन्द्र कांग्रेससँग सतर्क भएको देखिन्छ। उसले सहयात्री दललाई शंकाको नजरले हेर्न थालेको संकेतहरु देखा पर्न थालेका छन्। आगामी संसदीय निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै प्रतिष्पर्धा गर्ने भनेर नेपाली कांग्रेसले निर्णय गरेपछि राजनीतिमा तरंग उत्पन्न भएको छ। गएको निर्वाचनमा आफूसँग सहकार्य गरेको मुख्य दलको यस्तो निर्णय आएपछि माओवादी केन्द्र सतर्क मात्र भएको छैन, उ तर्सिएको र वैकल्पिक सहयात्रीको खोजीमा समेत सक्रिय भएको देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक गोप्य वार्तालाप गरिसकेका छन्। यतिमात्र होइन दाहालले आफ्ना निकट सहयोगी नेताहरु अग्नीप्रसाद सापकोटा र जनार्दन शर्मालाई अघि सारेर नेपाली कांग्रेसको निर्णयप्रति गम्भीर असन्तोष प्रकट गरिसकेका छन्। दाहाल आफैं भने ओलीसँगको गुप्त वार्तालाई निरन्तरता दिएर गठबन्धनको मुख्य दललाई तर्साउने प्रयास गरिरहेका देखिन्छन्।

नेपाली कांग्रेसले निर्वाचनमा सहकार्य नगर्ने नै हो भने माओवादीलाई एक्लै प्रतिष्पर्धा गर्न कठिनाई नै हुने विगतको परिणामले पनि देखाउँछ। त्यसैले उस्तै परे एमालेसँग सहकार्य गर्ने तर एमालेसँग पनि ढुक्क हुनसक्ने अवस्था नभएकाले नै दाहालले पूर्व माओवादी र अरु छरिएर रहेका वामपन्थी दलहरुलाई एक हुन आव्हान पनि गरिरहेका छन्।

के होला गठबन्धन

राष्ट्रिय सभाको अध्यक्ष बनाउने भनेर नेपाली कांग्रेस र माओवादी केन्द्रका अध्यक्षहरुले वचन दिएपछि सदस्यको निर्वाचनमा सहभागी भएर बिजयी बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यतिबेला विलखबन्दमा परेका छन्। महासमिति पछि एककिसिमले तनावमा परेको गठबन्धन सम्बन्ध सामान्य नभैसकेकाले राष्ट्रिय सभाको नेतृत्व कसको हातमा पर्ने हो भनेर ठोकुवा नै गर्नसक्ने अवस्था देखिँदैन। यही कारण नेपाली कांग्रेसका नेता सिटौला पनि अनिश्चयको बादलमा परेका छन्। तर गठबन्धन फेरबदलको तत्काल कुनै सम्भावना नभएकाले पूर्वसहमति अनुसार नै राष्ट्रिय सभाको नेतृत्व चयन हुने विश्वास गरिएकामा पछिल्ला दिनहरुमा माओवादी केन्द्रको रणनीति परिवर्तन भएको देखिएको छ।

नयाँ रणनीति बनाउँदै माओवादी

माओवादी केन्द्रको हालै सम्पन्न विधान अधिवेशन र अहिले जारी स्थायी समिति बैठकमा फरक मत आएको छ। केन्द्रीय सदस्य महेश्वर दाहालका अनुसार, वर्तमान सत्ता गठबन्धन निकट भविष्यमा परिवर्तन हुनसक्ने सम्भावना भएकाले माओवादी केन्द्र राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनबारे आन्तरिक छलफलमै छ। ‘आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार माओवादीले छाड्नुपर्ने हुन्छ, त्यतिबेला संवैधानिक अंगका कुनैपनि निर्णायक भूमिकामा माओवादी रहँदैन तसर्थ राष्ट्रिय सभाको नेतृत्व चैं आफैंसँग राख्नुपर्छ भन्ने आवाज पार्टीका सबै तहमा उठिरहेको छ। त्यसैले हालको गठबन्धन अनुसारकै परिणाम नआउन पनि सक्ला’ भन्छन् केन्द्रीय सदस्य दाहाल।

खटपटको संकेत

राष्ट्रिय सभा निर्वाचनकै क्रममा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझा उम्मेदवार अघि सारेको थियो । ६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आएपनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो । कोशीबाट कांग्रेस नेता सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएपछि माओवादी केन्द्रका नेताहरु रुष्ट भएका थिए । कांग्रेस मतदाताले ‘मतक्रस’ गरेर माओवादी उम्मेदवारलाई पराजित गराएको भन्दै माओवादीले समीकरणमा फेरबदलको प्रसंग अघि सारेको थियो । 

जारी छ शीर्ष सम्वाद

यसवीच सभापति शेरबहादुर देउवा र अध्यक्ष दाहालले पनि भेटघाट गरिसकेका छन्। देउवाले आफ्नो पार्टीको महासमितिको निर्णयबाट सशंकित नहुन दाहाललाई आश्वास्त तुल्याएको देउवा निकट सूत्रले बताएको छ।

त्यसपछि नेता सिटौलाले पनि दाहालसँग भेटेर आफ्नो कारणले गठबन्धन संकटमा पर्ने अवस्था छ भने आफू पछि हट्न तयार रहेको बताएका छन्। तर दाहालले पूर्व सहमतिमा परिवर्तनको कुनै सम्भावना र आवश्यकता नरहेकाले अन्यथा नसोच्न सिटौलालाई सल्लाह दिएको समाचार सूत्रले बताएको छ।

यस सम्बन्धमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले गठबन्धनको सम्बन्धमा कुनै परिवर्तनको सम्भावना नदेखिएकाले गठबन्धन दलहरुको निर्णय त्यही अनुसार नै हुनुपर्ने हो भनेका छन्। नेता रिजालले सिटौला नै अध्यक्ष पदका उम्मेदवार हुनेमा कुनै शंका नरहेको बताए।

देउवाको रणनीति

नेपाली कांग्रेसका सभापति देउवा आलोपालो अनुसार छैटौं पटक प्रधानमन्त्री हुने दाउमा छन्। माओवादी अध्यक्ष दाहालले छाडेपछि रिक्त प्रधानमन्त्री पदमा देउवा आउने सम्भावना छ। देउवालाई प्रधानमन्त्री पदमा सहयोग गर्दा माओवादीले धन्यवाद र कृतज्ञता मात्र लिएर चित्त बुझाउने छैन। उसले त्यसको बदलामा ठोस राजनीतिक लाभ लिने नै छ। हालको राजनीतिक अंकगणित हेर्दा माओवादीका आँखा राष्ट्रिय सभा अध्यक्षको आसनमै सोझिएको देख्न सकिन्छ। यही उदेश्यले हुनसक्छ अध्यक्ष दाहालले निकटस्थ नेतालाई नेपाली कांग्रेसप्रति कटाक्ष गराउँदै घुर्कीको भाषामा आलोचना गराईरहेका छन्।

यस्तो अवस्थामा कांग्रेस नेता सिटौला राष्ट्रिय सभाको नेतृत्वमा पुग्ने सम्भावना आफ्नै सभापतिको राजनीतिक उदेश्यका कारण पनि क्षीण बन्दै गएको देखिन्छ। कदाचित देउवा नै प्रधानमन्त्री बने भने सरकारको दोस्रो वरियतासहित महत्वपूर्ण मन्त्रालयमा चित्त बुझाउन सिटौला वाध्य हुने अवस्था नआउला भन्न सकिँदैन। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया