‘इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ’

इलाम। सरकारले इलाम–२ मा आगामी बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ। मिति तोकिएसँगै निर्वाचन आयोगले चुनावको तयारीको थालेको छ। यससँगै सो क्षेत्रमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका आकांक्षीहरूको दौडधुप पनि बढेको छ। 

यहाँबाट पटक–पटक विजयी हुँदै आएका र राष्ट्रिय नेताको पहिचान बनाएका नेकपा एमालेका तत्कालिन उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्बाङको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। एमालेले वर्षौसम्म लगातार चुनाव जितेको यो क्षेत्रमा अब एमालेले कसलाई अघि सार्ला ? यसबारे सर्वत्र चासो छ। अर्कोतिर नेम्वाङको छायाँमा परेका दर्जनौँ नेता कार्यकर्ताले आकांक्षा देखाउँदा एमालेलाई आकांक्षी व्यवस्थापन झन् सकस पर्ने देखिएको छ। 

तर आकांक्षी व्यवस्थापनमा समस्या नहुने एमाले इलाम जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक बुद्धि प्रसाद खनाल बताउँछन्। आफू स्वभाविक रुपमै उम्मेदवारको दाबेदार रहेको बताएका खनालले विधि, विधान, प्रक्रिया एवम उम्मेदवारको सक्रीयता र योगदानका आधारमा एमालले उम्मेदवार चयन गर्ने बताउँछन्।

“म सबै आकांक्षीहरुलाई सम्मान गर्छु। लोकतन्त्रको सुन्दरता भनेको प्रतिस्पर्धा हो र लोकतन्त्रमा आकांक्षा सबैले राख्न पाइन्छ। तर हाम्रो पार्टीको आफ्नै विधि विधान छ, प्रक्रिया छ। सो अनुसार संगठनले निर्णय गर्छ,” उनले अगाडि भने, “इलाम २ को सवालमा पार्टीका चार हजार सक्रिय सदस्य, मतदाता, शुभेच्छुकको भावना र मर्मलाई ख्याल गरेर अघि बढ्छौं।”

२०६३ पछि संविधान सभा अध्यक्ष सुवास नेम्बाङको स्वकीय सचिवका रुपमा निरन्तर काम गर्दै नेम्बाङलाई उक्त निर्वाचन क्षेत्रबाट पटक पटकका विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खनालले उम्मेदवार चयनमा यसपटक एकदमै विवेक पु¥याउनुपर्ने बताए। 

उनले भने, “धेरै संचारमाध्यमतिर नेम्वाङप्रतिको सम्मान र सहानुभूतिको मत यस पटक पनि कायम रहने भनिएको छ। तर यसमा विश्वस्त हुन सकिदैन्। मेहेनत धेरै गर्नुपर्छ। उम्मेदवार मतदातासँग चिनिएको, भिजेको र घुममिल भएको फिगर हुनुपर्छ।”

०४७ सालमै आदर्श माविको अनेरास्ववियुको अध्यक्ष, ०५४ मा मरब क्याम्पस इकाइ अध्यक्ष हुँदै ०६४ देखि निरन्तर इलाम २ को क्षेत्रीय समन्वय कमिटी संयोजक रहँदै आएका खनालले नेम्बाङ क्षेत्रमा आफू परिचित र बलियो उम्मेदवार भएको बताउने गरेका छन्। “उम्मेदवारको आकाक्षा एकातिर छ तर म संगठन जिताउनुपर्छ भन्ने पक्षमा छु। श्रद्धेय नेता सुवास नेम्वाङको योजना र इलाम विकासको परिकल्पना मैंले नजिकबाट बुझेको छु। लगभग दुई दशक उहाँसँग सानिध्यमा बसेर काम गरें, हरेक मतदातासँग जोडिएर काम गरेको छु,” उनले भने। 

इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि खनाल, गणेश बराल, रविन्द्र सुवेदी, उदयबहादुर  राई, उमेश गुरुङ, सुहाङ नेम्बाङलगायतले उम्मेदवार बन्ने इच्छा देखाएका छन्। उम्मेदवार चयनको सिलसिलामा एमाले केन्द्रीय कमिटीले  प्रदेश कमिटी, प्रदेशले जिल्लालाई र जिल्लाले क्षेत्रीय कमिटीलाई आधिकारिक पत्रचार गरेपछि उम्मेदवार चयनको प्रक्रिया अघि बढ्ने पनि उनले जानकारी दिए।क्षेत्रीय समन्वय कमिटीले आएका प्रस्ताव उपर छलफल गरी पठाएका उम्मेदवारको नाम केन्द्रले टुंगो लगाउने प्रावधान रहेको उनले जानकारी दिए।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया