कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा, रुख चिन्हको चिन्ता

ललितपुर। नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन विहीबार विभिन्‍न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ।

अधिकांश नेता कार्यकर्ताहरुले जारी महासमिति बैठकले कांग्रेसप्रति जनताको आकर्षण बढ्ने गरि हुनुपर्ने धारणा राखेका छन्।प्रतिवेदनमाथिको छलफलमा बोल्दै भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताएका छन्।

उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ? भन्दै प्रश्न समेत गरेका छन्। आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताएका थापाले पाँच वर्षसम्म गठबन्धन कायम रहनुपर्ने बताएका हुन्।

उनले भने, “नैतिकताको आधारमा राजीनामा दिएपछि मात्र गठबन्धन छोड्छु। पाँच वर्ष गठबन्धन गर्नुपर्छ। पार्टी पूर्ण रुपमा सभापतीय प्रणालीमा जानुपर्छ। पदाधिकारी कति छन् गन्न पनि सक्दिन। जति पदाधिकारी भएपनि केही हुने रहेनछ। दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ। यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाओस्।”

त्यस्तै, महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे। उनले भने, “गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस्। गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट्र अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस्।”

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण समेत गराए। उनले भने, “पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,” महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गरे।  (नेपाल न्युज बैंक)

प्रतिक्रिया