कांग्रेस एक्लै चुनावमा जानुपर्छ: सुशिल भट्ट

काठमाडौँ। नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्। बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन्।

उनले विधानमा उल्लेख भए अनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिए। कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकायहरुमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे। “पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चितताको व्यवस्था होस्। पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति पनि समेटियोस्”, उनले भने।

नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ संगठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरुको भावना समेटिनुपर्नेमा उनको जोड छ। ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै कांग्रेस अघि बढ्न्पर्ने उनले बताए। यस्तै पार्टी नेतृत्वका लागि उमेर हद, सदस्यदेखि पदाधिकारीसम्म बन्न पाउने समयसीमा तोकिनुपर्ने उनले बताए।

यस्तै केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रकि्रया बदल्दै वडा तहदेखि नै प्रतिस्पर्धा गर्दै आउनुपर्ने पार्टीभित्र मत बलियो रहेको भन्दै उनले बैठकको ध्याकर्षण पनि गराए। “त्यसले गर्दा केन्द्रीय सदस्य र पदाधिकारीहरु वडा तहदेखि नै प्रतिस्पर्धा गर्दै आउँदा उहाँहरु पनि थप बलसाली हुने र आम कांग्रेसीले सोचे अनुसारको पार्टी नेतृत्व बन्ने देखिन्छ”, उनको भनाइ थियो।

यस्तै ‘एक व्यक्ति एक पद’ को अवधारणा अनुसार पार्टी अघि बढ्नुपर्ने, भ्रष्टाचारविरुद्ध निर्मम बन्नुपर्ने, मन्त्री पठाउँदा विषयविज्ञ छानिनुपर्नेलगायतमा पनि उनले जोड दिए।(नेपाल न्युज बैंक)

प्रतिक्रिया