सेयर बजार सूचक र कारोबार दुवै घट्यो

काठमाडौँ। बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटेको छ। बजार सूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ।

१५९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। उत्पादनमूलक बाहेकका सबै उपमूहले नेप्से घटाएका छन्। उत्पादनमूलकको सूचक भने २.८४ प्रतिशतले बढेको छ।

घटेको बजारमा पनि बोटलर्स नेपालमा दुवै कम्पनी, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको सेयरमूल्य भने सर्किटस्तरमा बढेको छ। बोटलर्स बालाजुको सेयर प्रति कित्ता १२ हजार ३ सय ९३ रुपैयाँ पुगेको छ भने बोटलर्स तराईको सेयर प्रति कित्ता १३ हजार १ सय ९४ रुपैयाँमा किनबेच भएको छ। समाज लघुवित्तको १ हजार ९ सय ७८ पुगेको छ। यस्तै हिमालय ऊर्जाको कित्ताको ३ सय ३५ रुपैयाँ भएको छ।

अघिल्लो दिनका तुलनामा सेयर कारोबार ८७ करोडले कम भएको छ। बुधबार ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ। 

कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। हिमालयनको १ लाख ७३ हजार ५ सय ३७ कित्ता सेयर ११ करोड १२ लाखमा कारोबार भएको छ। सेयरमूल्य ६ सय ३३ रुपैयाँ २० पैसा प्रति कित्ता रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस्तै एनआइसी एसिया बैंकको ६ करोड २६ लाख, पिपुल्स हाइड्रोपावर कम्पनीको ६ करोड र सगरमाथा जलविद्युतको ५ करोड ८६ लाखको सेयर किनबेच भएको छ।(नेपाल न्युज बैंक) 

प्रतिक्रिया