पार्टीले एक्लै चुनाव लड्ने सुनिश्चितता हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गरेका छन् । 

मंगलबार आफ्नो प्रतिवेदन पेस गर्दै उनले गठबन्धन बनाएर नभइ पार्टीले एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको गर्नुपर्ने बताएका छन् । गठबन्धनले पार्टीका कार्यकर्ता तहसम्म प्रतिकूल प्रभाव पारेको उनले जिकिर गरेका छन् ।

‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ,’ उनको प्रस्तावमा उल्लेख छ । 

महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिए पनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको उनले उल्लेख गरे । 
त्यस्तै, निकट भविष्यमा आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा लड्ने र मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत सुनिश्चित गर्ने थापाको भनाइ छ । 

सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भएपनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री थापाले जिकिर थियो । 

यसअघि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेस गरेका छन् । 
 

प्रतिक्रिया