कांग्रेस नेताहरुले उठाए एनआरएनए र जनसम्पर्क समितिको मुद्दा

काठमाडौँ। ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमितिको बैठकमा भेला भएका नेता तथा कार्यकर्ताहरुले जन सम्पर्क समितिको अधिकार र गैर आवासीय नेपाली संघका मुद्दाका बारेमा चर्चा गरेका छन्।

जन सम्पर्क समितिका सवालमा कांग्रेसले उदार नीति लिनुपर्ने र एनआरएनएका विषयमा जिम्मेवार बन्नुपर्नेमा नेताहरुको जोड छ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनसम्पर्क समितिलाई संगठन निर्माणका क्रममा पार्टीले प्रयोग गर्नुपर्नेमा जोड दिए।

महासमिति  बैठकको दोस्रो दिन मंगलबार जनसम्पर्क समितिबाट आएकाहरुलाई स्वागत गर्दै नेता कोइरालाले जनसम्पर्क समितिमा देखिएको समस्याबारे जानकार रहेको बताउँदै समस्या समाधानका लागि पहल गर्न पनि जोड दिए।

उनले पहिला अधिवेशन बनाएर जनसम्पर्क समितिलाई चुस्तता प्रदान गर्नुपर्नेमा जोड थियो। नेता डा.कोइरालाले जनसम्पर्क समितिहरुलाई केन्द्रीय कार्यसमितिमा भूमिका दिनुपर्ने कुरामा आफू प्रस्ट रहेको बताउँदै गुटगत स्वार्थ त्याग्न पनि आग्रह गरे।

यसैगरी आफ्नो प्रस्ताववारे जानकारी दिँदै जनसम्पर्क समितिलाई प्रदेश सरह प्यासेफिकवाइज बनाउने र अन्तर्राष्ट्रिय परिषद्को अध्यक्ष पदेन केन्द्रीय सदस्य बनाउन सकिने पनि बताए। यसका लागि अझै पनि विधानमा के कस्तो व्यवस्था गर्न सकिन्छ त्यसका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले अहिले पार्टी र देश कठिन अवस्थामा रहेको यसबाट पार पाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिए।

उनले जनसम्पर्क या गैर आवासीय नेपाली जुन शब्द प्रयोग गरे पनि अहिले यो संख्या बढेको बताउँदै उनीहरुको ज्ञान सीप र पुँजीलाई नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्नेमा जोड दिए। यसैगरी जनसम्पर्क समितिहरुलाई चुस्त बनाउनका लागि सबैले आ–आफ्नो स्वार्थ त्याग्नुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले गुटवन्दी अन्त्य गर्ने बेला आएकमे बताउँदै पुँजी भित्र्याउनका लागि पहल गर्नुपर्नेमा जोड दिए। अहिलेको नेतृत्वमा भावना जगाउने कुनै योजना नरहेको बताउँदै चुस्तदुरुस्त बनाएर संगठनलाई चलायमान बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरीले अब तत्काल जनसम्पर्क समितिको चुनाव गराउनु पर्नेमा जोड दिए। जनसम्पर्क समिति भद्रगोल हुनुमा कांग्रेस केन्द्रीय कार्यसमितिको पनि भूमिका रहेको बताए। जनसम्पर्क समितिको चुनाव गराउन जाने प्रतिनिधिले नै  गुटगत राजनीति गर्दा अप्ठेरो परेको बताए।

यसैगरी, जनसम्पर्क समितिमा नेपाली कांग्रेसका सदस्यहरु धेरै भएपनि गैर आवासीय नेपाली संघ एनआरएनएको चुनावमा लोकतान्त्रिक उम्मेदवार पराजित हुनुको कारण पनि खोज्नुपर्ने बेला आएको बताए। एनआरएनएको पछिल्लो समय भइरहेका गतिविधिबारे बोल्दै गिरीले एमालेको सरकार भएको र वद्री केसी समूहलाई हराइएको भए अहिलेसम्म त्यो सरकारले उनीहरुलाई मान्यता दिइसक्थ्यो तर कांग्रेस माओवादीको अहिलेको गठबन्धन सरकारले अहिलेसम्म कुनै पनि निर्णय गर्न नसक्नु दुःखद् भएको बताए। उनले यस विषयमा पार्टीमा कुरा राख्ने पनि बताए।

यस्तै, केन्द्रीय सदस्य सरिता प्रसाईंले गुटगत राजनीति त्यागेर आउन जनसम्पर्क समितिहिरुलाई आग्रह गरिन्। यसैगरी जनसम्पर्क समितिको अधिवेशन गराउन आग्रह गर्दै अहिलेसम्म एउटै व्यक्ति लामो समयसम्म अध्यक्ष भइरहने कुरा लोकतान्त्रिक विधि र पद्धती विपरित भएको उनको भनाई थियो।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जनसम्पर्क समितिले पार्टीलाई आवश्यकता परेका बेला हरेक प्रकारको सहयोग गरेको बताउँदै महाधिवेशनमा भोट हाल्ने र महासमितिमा आएर बोल्ने मात्रै नभएर केन्द्रीय सदस्यको चुनाव लड्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। साथै उनले क्लस्टर छुट्याएर प्रतिस्पर्धा गर्ने वातावरण बनाउन माग गरे।

जनसम्पर्क समिति बेल्जियम सभापति सीता सापकोटाले नागरिकताको सवालमा कांग्रेस स्पष्ट हुन जरुरी रहेको बताइन्। अहिले पाएको एनआरएन नागरिकताले समस्या समाधान नगरेको र अधिकारहरु अझै नपाएको बताइन्। यसैगरी जनसम्पर्क समितिबाटै एनआरएनएमा ७९ प्रतिशत प्रतिनिधिहरु रहेपनि आपसी बेमेल र गुटबन्दीका कारण एनआरएनएमा लोकतान्त्रिक नेतृत्व पराजय हुन पुगेको बताइन्।

अहिले पनि ३६४ दिन नेपाली कांग्रेस भन्ने अनि मतदान गर्ने बेला अन्यन्त्र मतदान गर्ने साथीहरुका कारण कांग्रेसको अवस्था पनि कमजोर भएको टिप्पणी गरिन्। यसैगरी जनसम्पर्क समितिलाई पार्टीको गुट र उपगुटमा जोडेर काखा पाखा नगर्न पनि आग्रह गरिन्। जनसम्पर्क समिति बेल्जियमका निवर्तमान सभापति पूर्ण तिमिल्सिनाले नेपालमा लगानी भित्र्याउने कुरा गरेपनि यहाँ वातावरण अझैं नबनेकाले दुःख भएको बताए।

आफूले पहिलो पटक कालिज फार्म खोलेको प्रशंग निकाल्दै काम गराउनका लागि कांग्रेसका भन्दा अरुसँग सहज हुने बताए। लगानीको वातवरण बनाएर विदेशी लगानीकर्तालाई नेपालमा ल्याउने वातावरण बनाउनुपर्नेमा जोड पनि दिए। यस्तै, नारायण थापाले जनसम्पर्क समितिको अधिवेशन नगराएको आक्रोश व्यक्त गरे। एउटै व्यक्ति लामो समयसम्म पदमा बस्न नहुने उनको तर्क थियो।

जनसम्पर्क समिति स्पेनका चिन्तामणी सापकोटाले नेपालको हरेक आन्दोलनमा आफूहरुको सहभागिता रहेको बताउँदै अझैं पनि नेपालमा थुप्रै कामहरु गर्न बाँकी रहेको बताए। जनसम्पर्क समितिलाई बलियो बनाउँदा पार्टी र देश पनि बलियो हुने भएकाले यतातर्फ ध्यान दिन सुझाव दिए। गैर आवासीय नेपाली संघ आरके समूहका महासचिव बुद्धिसागर सुवेदीले युवाहरु विदेशीएको कुरालाई गलत भन्दा पनि राम्रो तरिकाले सदुपयोग गर्नुपर्नेमा जोड दिए।

अहिले विदेशमा रहेका ४० वर्ष मुनिका नेपाली युवाहरुले दक्षता हासिल गरेकाले उनीहरुलाई नेपालमा सदुपयोग गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए। यसैगरी नेपालले आफ्नो कुरा गर्दा बढी फाइदा हुन्छ त्यसको जोन छुट्याएर काम गर्नुपर्नेमा जोड दिए। उनले कृषि, जलविद्युत, पर्यटनमा राम्रो सम्भावना रहेको बताउँदै लगानी योग्य वातावरणका लागि पहल गर्नुपर्नेमा जोड दिए।

यसैगरी पछिल्लो समय नेपालमा पर्यटकहरुको आगमन बढेकोप्रति खुसी व्यक्त गर्दै त्यहाँ रहेको विभेदबारे पनि जानकारी गराए। पयर्टक र त्यही पर्यटकको गाइडको प्लेन टिकटदेखि होटेलमा हुने असमानताका कारण पर्यटकहरुले भेदभाव भएको गुनासो गर्ने गरेको बताए।एनआरएनएका निर्वतमान अध्यक्ष कुल आचार्यले नागरिकतको सवालमा केही सफलता हातपरे पनि पूर्णरुपमा नभएको बताए। यसैगरी डायस्पोरालाई अन्य पार्टीले जसरी नेपाली कांग्रेसले पनि प्रयोग गर्नु पर्नेमा जोड दिए। लगानी वातावरण लगायतका कुराहरुमा स्पष्ट ढंगले अघि बढ्नु पर्नेमा पनि उनको जोड थियो।(नेपाल न्युज बैंक) 

प्रतिक्रिया