नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि

काठमाडौँ। नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बैठकको सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता। स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन्। उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा प्रस्ताव पेस गर्नेछन्।

यसअघि ०७८ मा १४ औँ महाधिवेशनका बेला अलग्गै नीति महाधिवेशन गर्ने प्रण गरेको कांग्रेसले अहिले महासमिति बैठकलाई नै नीति महाधिवेशनकोरुपमा लिएर छलफल गर्ने भनेको छ। बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने प्रचार विभागका प्रमुख विश्वकर्माले बताए। प्रस्तुत प्रस्तावहरुमाथि तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल हुनेछ।

महासमिति बैठकमा केन्द्रीय समितिका १६५, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना सदस्यहरू सहभागी हुनेछन्। केन्द्रीय कार्यालयले महासमिति सदस्य नरहेका ४६ जिल्ला सभापतिहरुलाई समेत आमन्त्रित सदस्यकारुपमा सहभागी गराउनेछ।

महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने भएपनि २ हजार ५ सयभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने प्रचार विभागका प्रमुख विश्वकर्माले जानकारी दिए।

कांग्रेसले महासमिति बैठकका लागि प्रतिनिधिका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकेको छ। कांग्रेसले कार्यक्रमस्थलमा खानाको प्रबन्ध गरेको छ भने बासको व्यवस्था प्रतिनिधिहरु आफैँले गरेका छन्। काठमाडौं उपत्यकाभित्र बस्ने ठाउँसम्म ल्याउन र पुर्याउनेका लागि पार्टीले बसको व्यवस्था गरेको प्रचार विभागका प्रमुख विश्वकर्माले बताए। 

कांग्रेसका अनुसार महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ। महासमिति बैठक बिहीबारसम्म चल्नेछ। (नेपाल न्युज बैंक) 

प्रतिक्रिया