‘रामायण’ लाई बोल्ने लवज सिक्दै रणवीर कपूर

मुम्बई। निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ को अहिले बलिउडमा राम्रै चर्चा छ। अभिनेता रणवीर कपूर यो फिल्ममा ‘राम’ चरित्रमा देखिँदैछन्। तर समय–समयमा ‘सीता’को भूमिकालाई लिएर अभिनेत्रीको नाम टुंगो लागिसकेको छैन।

फिल्मका लागि रणवीरले निकै मेहनत गर्दैछन्। फिल्मको सुटिङ सुरु हुनु अघि रणवीर आफ्नो पूर्वाभ्यासको काम पुरा गर्ने ध्याउन्नमा छन्। फिल्मका लागि नितेशको टिमले एक डिक्सन(बोल्ने लवज) र संवाद विभाग बनाएका छन्, जुन विभागले केवल ‘रामायण’का लागि मात्र काम गर्नेछ। अर्थात् अभिनेतालाई बोल्ने तरिका र संवाद सिकाउनका लागि यो टिमले काम गर्नेछ।

यतिमात्र होइन, ‘रामायण’मा कलाकारले लगाउने पहिरन बनाउन पनि जोडतोडका साथ काम भइरहेको छ। फिल्मका प्रमुख कलाकार कस्तो देखिनेछन् भनेर टिमले अध्ययनको पनि काम गरिरहेको छ।

नितेशले रणवीरका लागि एक संवाद विशेषज्ञ नै राखेका छन्, जसले संवाद सही तरिकाले बोल्न र भूमिकालाई सही ढंगले प्रस्तुत गर्न सिकाइरहेका छन्। फिल्मकै लागि रणवीरले घण्टौंसम्म संवाद पढिरहेका छन् र नितेशलाई भ्वाइस रेकर्ड गरेर नियमित रुपमा पठाइरहेका छन्।

ठूलो क्यानभास र बजेटमा निर्माण हुने यो फिल्ममा विशेष इफेक्टका साथ भीएफएक्सको राम्रो प्रयोग हुनेछ। यो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गरिनेछ।

फिल्ममा रणवीर ‘राम’ फाइनल भइरहँदा जान्हवी कपूर ‘सीता’को रुपमा देखिने चर्चा छ। फिल्ममा साउथ अभिनेता यश ‘रावण’को भूमिकामा देखिने चर्चा उत्तिकै छ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया