मुगुका गाउँमा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि

मुगु। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको खोकी भाइरल ईन्फ्लुएन्जा पुष्टि भएको छ।

सोरु गाउँपालिका–६ का पुरुमुरु र जिमागाउँमा भन्टै तीन साता अघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो। १ सय ५० जना थला परेका थिए।

थला परेकामध्ये १ सय ३५ जनामा भाईरल इन्फ्लुएन्जा पाइएको हो। उक्त स्थानमा पुगेको चिकित्सक सहितको टोलीले जाँच गर्दा भाइरल ईन्फ्लुएन्जाको लक्षण पाइएको हो।

बिरामीमध्ये ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाईरल ईन्फ्लुएनजा पुष्टि भएको हो ।

जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुङ्गानाका अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाईरल ईन्फ्लुएन्जाको लक्षण देखिएको थियो। 

संक्रमण फैलिएको क्षेत्रबाट ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। तीमध्ये १० जनाको परीक्षण गर्दा एक जनामा कोभिड–१९ को भाईरस, एक जनामा भाईरल ईन्फ्लुएन्जा बी र अरु सात जनामा भाईरल ईन्फ्लुएन्जाको रिपोर्ट प्राप्तभएको ढुङ्गानाले बताए।

थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी महाशाखा, विश्व स्वास्थ्य संगठनको सुर्खेतस्थित कार्यालय र जिल्ला अस्पातलबाट गरी तीनजनाको डाक्टर सहितको टोली बुधबार सोरु गाउँपालिका–६ पुरुमुरु र जिमागाउँतर्फ हिँडेको छ। डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार केही समय अघिबाट भाईरल ईन्फ्लुएन्जा नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ। 

बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहित टोली गाउँमा पुग्ने बताइएको छ। उपाध्यक्ष शाहीका अनुसार दुबै गाउँमा अहिले बिरामीहरुको संख्या पहिलाको भन्दा घटेको छ।

सोरु गाउँपालिका–६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको मृत्यु भएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया