कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा तीन घण्टा ढिलो मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भएपनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेस नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । मतदानबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका छन् । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिष्पर्धामा छन् ।

यस्तै कोइराला प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा. मीनेन्द्र रिजाल प्रतिस्पर्धामा छन् । प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । सभापतिमा पहिलो चरणमा कसैले स्पष्ट बहुमत अर्थात ५१ प्रतिशत ल्याउन नसके दोस्रो चरणमा गर्ने कांग्रेस विधानको व्यबस्था छ ।

प्रतिक्रिया